arrow

आइसीसी विश्वकप लिग–२

युरोपमा खेल्न सहज छैन तर सुखद नतिजा ल्याउनेछौँ [भिडियो]

नेपाली टोलीले जुलाई २१ तारिखदेखि नेदरल्याण्ड्समा घरेलु टोली र नामिबियासँग त्रिदेशीय शृङ्खला खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
rohit-poudel-03-21.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसीसी विश्वकप लिग–२ अन्तर्गत अवे कन्डिसन र युरोपको मैदानमा खेल्न सहज नहुने बताए। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयोजना गरेको नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै उनले होम कन्डिसनभन्दा अवे (विदेशी) मैदानमा खेल्न सधैँ चुनौतीपूर्ण हुने भए पनि टोलीको 'कम्बिनेसन' राम्रो रहेकाले सुखद नतिजा आउने विश्वास व्यक्त गरे।

विश्वकप लिग–२ (साइकल २०२३–२०२७) को शृङ्खलाअन्तर्गत नेपाली टोलीले जुलाई २१ तारिखदेखि नेदरल्याण्ड्समा घरेलु टोली र नामिबियासँग त्रिदेशीय शृङ्खला खेल्ने तालिका छ। लिग–२ को तालिकामा नेदरल्याण्ड्समा नेपालभन्दा माथिल्लो स्थानमा छ भने नामिबिया नेपालभन्दा मात्र दुई अंकले पछि छ। कप्तान रोहितले नेदरल्यान्ड्स र नामिबियालाई हराउने मानसिकताका साथ मैदान उत्रिने स्पष्ट पार्दै पछिल्ला दुईवटा शृङ्खलाको लयलाई युरोप भ्रमणमा पनि निरन्तरता दिने र आफ्नो उत्कृष्ट खेल पस्कने लक्ष्य रहेको सुनाए। नेपालले गत अप्रिल र मे महिनामा घरेलु मैदानमा खेलेका ८ मध्ये ६ खेल जित्दै लिग–२ को शीर्ष तीनको दौडलाई जीवन्त राखेको थियो।

क्यानका सचिव पारस खड्काले टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लको पासपोर्ट समयमै नवीकरण नहुँदा उनी टोलीको बन्द प्रशिक्षण र तयारीमा उपस्थित हुन नसकेको जानकारी दिए। यद्यपि, सचिव खड्काले नेपाली टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

आइतबार आयोजित बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्का लगायतले नेपाली टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै सुखद यात्राको कामनासहित बिदाइ गरे। नेपाली टोली आगामी मंगलबार जर्सीतर्फ प्रस्थान गर्नेछ, जहाँ जुलाई १३ र १५ मा जर्सीसँग ५० ओभरका दुईवटा अभ्यास खेल खेलेपछि टोली नेदरल्यान्ड्स प्रस्थान गर्ने तालिका छ। हाल लिग–२ को अंकतालिकामा नेपाल २८ खेलबाट २४ अंक जोड्दै पाँचौँ स्थानमा छ भने तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको ३२ अंक र चौथो स्थानको ओमानको ३१ अंक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ