arrow

उन्नाइस दिनमै साढे ४० हजार मेट्रिक टन मल वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
paddy-dhaan-ropai.jpg

काठमाडौँ । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ उत्साहजनक रूपमा सुरु भएको छ। रोपाइँको यो चटारोका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव झेल्नुपरेको छैन।

असारको सुरुवाती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री-वितरण भइसकेको छ। यसले मल आपूर्ति प्रणालीमा सरकारको पूर्वतयारी सहितको उपस्थितिलाई पुष्टि गरेको छ।

सरकारी तथ्याङ्कअनुसार यही असार १ देखि १९ गतेसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत कूल ४० हजार ५६९.२५ मेट्रिकटन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ।

प्रधानमन्त्री वालेन्द्र साहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले विगतका वर्षहरूमा धान रोपाइँको मुख्य याममै किसानले रासायनिक मल नपाएर सास्ती खेप्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताइन्। तर यसपटक सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेको उनले स्पष्ट पारिन्।

यसपटक राष्ट्रिय आपूर्तिमा सरकारी निकायहरू बीचको समन्वय निकै प्रभावकारी देखिएको छ। कूल वितरणमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६ मेट्रिकटन मल उपभोक्ता समक्ष पुर्‍याएर बजारको मागलाई सन्तुलित बनाएको छ।

रोपाइँको समयमा मलको आवश्यकतालाई ध्यानमा राख्दै सरकारी संयन्त्रले बजारमा पर्याप्त मल पठाएका कारण यस अवधिमा २३ हजार ४८२.४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डिएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल किसानले सहजै प्राप्त गर्न सकेका हुन्।

विगतका अनुभवहरूलाई हेर्दा असार १५ गते (राष्ट्रिय धान दिवस) को आसपासमा मलको माग अत्यधिक भई प्रणाली नै प्रभावित हुने गर्दथ्यो। असारको सुरुमा दैनिक औसत बिक्री ८७६.4५ मेट्रिकटन मात्र रहेकोमा असार १५ गते बढेर चार हजार ८७७.१५ मेट्रिकटन पुगेको थियो। विगतका कैयौँ वर्षका तुलनामा यो सबैभन्दा धेरै मात्रा हो। तर, माग सँगसँगै वितरण प्रणालीलाई पनि समानान्तर रूपमा चुस्त राखिएकाले एकैदिन झण्डै पाँच हजार टन मल वितरण हुँदासमेत कतै पनि आपूर्ति शृङ्खला नखल्बलिएको कृषिका अधिकारीहरूले बताए।

प्रेस तथा अनुसन्धान विज्ञ दाहालले असार १५ गते एकैदिन करिब पाँच हजार मेट्रिकटन मल कुनै अवरोध विना किसानको हातमा पुग्नु आफैँमा सरकारी संयन्त्रको प्रभावकारिता र किसानप्रतिको जवाफदेहिताको बलियो प्रमाण भएको बताइन्। आगामी दिनमा पनि मलको अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयले निरन्तर अनुगमन र समन्वय गरिरहेको जानकारी उनले दिइन्।

समयमै बजेटको सुनिश्चितता, वैदेशिक खरिद प्रक्रियाको पूर्वतयारी र जिल्ला-जिल्लामा रहेका डिपोहरूको निरन्तर निगरानीका कारण यसवर्ष रासायनिक मलको मौज्दात पर्याप्त रहेको छ। सरकारको योजनाबद्ध पहल र सक्रिय अग्रसरताले बाँकी यामहरूमा पनि कृषि क्षेत्रमा आवश्यक सहयोग, समन्वय तथा उत्साहलाई निरन्तरता दिने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ