म्याक्रोनको सिरिया भ्रमणकै क्रममा दमास्कसमा बम विस्फोट
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
276
Shares
काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सिरिया भ्रमणका क्रममा राजधानी दमास्कसको मध्यभागमा मङ्गलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन्। ती विस्फोटहरूमा परी १८ जना घाइते भएका छन् । जसमा चार जना सिरियाली प्रहरी अधिकारी समेत रहेका छन्।
सिरियाली गृह मन्त्रालयका अनुसार विस्फोट राजधानीको प्रसिद्ध फोर सिजन्स होटल नजिकै रहेको पर्यटन मन्त्रालयको कार्यालय आसपास भएको थियो। गृह मन्त्रालयले उक्त विस्फोट राष्ट्रपति म्याक्रोनको निवासका लागि तोकिएको कडा सुरक्षा घेराबाहिर (पेरिमिटर) भएको स्पष्ट पारेको छ। यस घटनाबाट फ्रान्सेली राष्ट्रपतिको सुरक्षामा कुनै प्रत्यक्ष खतरा उत्पन्न नभएको र उनको औपचारिक भ्रमणका कार्यक्रमहरू पूर्वनिर्धारित तालिका अनुसार नै जारी रहने मन्त्रालयले उल्लेख गरेको छ।
विस्फोटको खबर सार्वजनिक भएको केही समय लगतै सिरियाली राष्ट्रपति अहमद अल–शराले ‘पिपल्स प्यालेस’मा फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई औपचारिक स्वागत गरेका छन्। राज्य नियन्त्रित सञ्चारमाध्यमहरूका अनुसार दुई देशका राष्ट्रप्रमुखबीचको द्विपक्षीय वार्ता र भेटघाट पूर्वतालिका बमोजिम नै अघि बढेको छ।
सिरियाली सरकारी समाचार एजेन्सी (साना) का अनुसार सुरक्षा बलले सो क्षेत्रमा दुईवटा शङ्कास्पद विस्फोटक उपकरणहरू फेला पारेका थिए। ती घरेलु विस्फोटक उपकरण (आईईडी) हरूलाई प्राविधिक टोलीले निष्क्रिय (डिफ्युज) पार्ने प्रक्रिया सुरु गरिरहेकै बेला विस्फोट भएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
प्रारम्भिक अनुसन्धान अनुसार एउटा आईईडी पार्क गरेर राखिएको सवारी साधनमा र अर्को सडक किनारको फोहोर फाल्ने कन्टेनर (डस्टबिन) भित्र लुकाएर राखिएको पाइएको छ।
घटनालगत्तै सुरक्षा निकायले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै उक्त पूरै क्षेत्रलाई नियन्त्रणमा लिएर घेराबन्दी (कर्डन) गरेको छ। सो क्षेत्रमा अन्य कुनै विस्फोटक पदार्थ हुन सक्ने आशङ्कामा विशेषज्ञ टोलीहरूले विशेष सुरक्षा अपरेसन र सघन खानतलासी (सर्च अपरेसन) जारी राखेको सिरियाली प्रशासनले जनाएको छ।