arrow

नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
gita-chaudharys-.jpg

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को नेतृत्व कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र दक्षताका आधारमा मात्रै चयन हुने बताएकी छन्।

नेपाल कृषि अनुसन्धान परिषद्ले आयोजना गरेको नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिक कर्मचारीहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले इमानदार, मेहेनती र नतिजामुखी वैज्ञानिकले मात्र संस्थाको नेतृत्व गर्ने अवसर पाउने स्पष्ट पारिन्। विगत केही वर्षदेखि परिषद् आन्तरिक जटिलता र संरचनागत समस्याका कारण संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यसलाई सुधार गर्न आवश्यक रहेकोमा जोड दिइन्।

मन्त्रालयले परिषद् सुधारलाई उच्च प्राथमिकतामा राखे पनि संस्थाले अझै स्पष्ट मार्गचित्र तयार गर्न नसकेको र विद्यमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान नसक्ने उनको भनाइ छ। मन्त्रालयको कार्यभार सम्हालेको पहिलो दिनदेखि नै परिषद् पछाडि पर्नुका कारणहरूको गम्भीर समीक्षा गरिरहेको जानकारी दिँदै उनले परिषद्भित्र आत्मसमीक्षा र संस्थागत सुधारको आवश्यकता औंल्याइन्।

मन्त्री चौधरीले नार्क हाल २०४८ सालको ऐनअनुसार सञ्चालन भइरहेकाले उक्त ऐन समयानुकूल नभएकाले संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। कृषि अनुसन्धान प्रणालीलाई सशक्त, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक नीति, पूर्वाधार, अनुसन्धानमैत्री वातावरण तथा क्षमता विकासमा मन्त्रालयले प्राथमिकता दिएको उनले बताइन्।

उनले भनिन्, ‘अब कार्यसम्पादनका लागि सुशासन कायम गर्ने क्षमता र नेतृत्व गर्ने दक्षता नै मुख्य मापदण्ड हुनेछन्। इमानदार, मेहेनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिक मात्र यो संस्थाको नेतृत्व गर्नका निम्ति योग्य हुनेछन्। नयाँ वैज्ञानिकहरू नयाँ उत्साहका साथ कृषि क्षेत्रमा योगदान पुर्‍याउन आउनुभएको छ, तपाईंहरूको भविष्य सुनिश्चित गर्नु मेरो पनि उत्तिकै जिम्मेवारी हो। यसका लागि २०४८ को ऐन संशोधनका लागि हामीले गम्भीर रूपमा प्रक्रिया अगाडि बढाइरहेका छौँ।’

यसका साथै, परिषद्को संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण लामो समयदेखि हुन नसकेको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै मन्त्री चौधरीले समस्या समाधानका लागि सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिइसकेको बताइन्। सरकार परिषद्को संस्थागत सुदृढीकरण, वैज्ञानिकहरूको करियर विकास तथा कर्मचारी हितप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले उल्लेख गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ