यस वर्षको मनसुनमा खडेरी र बाढीको दोहोरो संकट, हिमालदेखि सहरसम्मै महाविपत्तिको चेतावनी
यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने, आकस्मिक बाढी, पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिमहरू तीव्र रूपमा बढ्न सक्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
391
Shares
काठमाडौँ । मौसमविद्हरूले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने तर बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढी, पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिमहरू तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएका छन्।
पाकिस्तानको गिलगिट–बाल्टिस्तान र भारतको अरुणाचल प्रदेशमा हालै बादल फाटेर (क्लाउड बर्स्ट) आएको विनाशकारी बाढीपछि मौसम विशेषज्ञहरूले हिन्दूकुश हिमालय (एचकेएच) क्षेत्रका समुदायलाई विशेष सचेत गराएका हुन्। मनसुन पूर्वानुमान २०२६ ले यस क्षेत्रका अधिकांश भागमा मौसमी वर्षा सामान्यभन्दा कम रहने प्रक्षेपण गरेको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विपद् जोखिम न्यूनीकरण विशेषज्ञ सस्वता सन्यालका अनुसार मौसमी वर्षा कम हुनुको अर्थ बाढीको जोखिम कम हुनु होइन। ‘एल निनो’ को प्रभावका कारण लामो समयसम्म सुक्खा अवधि रहने र त्यसकै बीचमा स्थानीय रूपमा हुने अचानकको अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने उनले स्पष्ट पारे। यस्तो असमान मनसुनका कारण कृषि र पानी आपूर्तिमा समेत ठूलो दबाब थपिएको छ।
सामान्यभन्दा बढी तापक्रमका कारण सिन्धु, गङ्गा र ब्रह्मपुत्र नदी प्रणालीका हिमनदी–आधारित बेसिनहरूमा जोखिम अझ बढेको छ। बढ्दो तापक्रमले हिमनदी र हिउँ पग्लिने प्रक्रियालाई तीव्र बनाउँछ, जसले नदीमा पानीको सतह बढाउनुका साथै पहाडी भिरालो भूभाग र हिमतालहरूलाई अस्थिर बनाउने गर्दछ।
जलविज्ञ मनिष श्रेष्ठले पाकिस्तानको ‘थोरे’ उपत्यकामा हालै आएको बाढीको उदाहरण दिँदै भने, “अत्यधिक वर्षा, हिमनदी पग्लिनु, अस्थिर भिरालो जमिन र तीव्र गतिको नदी बहाव मिलेर शृङ्खलाबद्ध विपद् सिर्जना गर्न सक्छन्। त्यसैले तयारी गर्दा प्रत्येक जोखिमलाई अलग रूपमा नभई संयुक्त रूपमा हेर्नुपर्छ।”
जलवायुविज्ञहरूले सरकारले खडेरी, अत्यधिक गर्मी, आकस्मिक बाढी, पहिरो र हिमनदीसम्बन्धी जोखिमलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा सामना गर्ने रणनीति बनाउनुपर्ने धारणा राखेका छन्। विशेष गरी नेपाल, भारतका उत्तरी तथा उत्तर-पूर्वी क्षेत्र, पाकिस्तानका नदी किनार, ठाडो ओरालो भूभाग र तीव्र रूपमा विस्तार भइरहेका सहरी क्षेत्रमा विशेष ध्यान दिन आवश्यक छ।
मौसमविज्ञका अनुसार यस वर्षको सबैभन्दा ठूलो जोखिम भनेको कम वर्षा हुनुलाई कम विपद्को सङ्केत ठान्नु हो। इसिमोडका जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानले हिमाली समुदायको परम्परागत ज्ञान र वैज्ञानिक पूर्वानुमानलाई एकसाथ संयोजन गर्नुपर्ने बताइन्। मनसुनका अझै धेरै हप्ता बाँकी रहेकाले नदी प्रणाली र राष्ट्रिय सीमापार फैलिने जोखिम व्यवस्थापनका लागि सीमापार पूर्वसूचना प्रणाली तथा सूचना आदानप्रदानलाई सुदृढ बनाउनु पर्नेमा विज्ञहरूले जोड दिएका छन्।