arrow

कुमारी बैङ्क र डोइचे स्पार्कासेनस्टिफ्टुङबीच दिगो बैङ्किङ विकासका लागि समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
kumari-bank-deutsche-sparkassenstiftung -für-internationale-kooperation-junly-2026.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले दिगो बैङ्किङ अभ्यासको प्रवर्द्धनका लागि जर्मन संस्था डोइचे स्पार्कासेनस्टिफ्टुङ फ्योर इन्टरनेशनल कोअपरेशनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यो समझदारी जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित एसिया क्षेत्रीय कार्यक्रमअन्तर्गत दिगो बैङ्किङ विकासको अभियानलाई थप मजबुत बनाउने उद्देश्यले गरिएको हो।

समझदारी पत्रमा कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत रुद्रप्रसाद श्रेष्ठ र डोइचे स्पार्कासेनस्टिफ्टुङ फ्योर इन्टरनेशनल कोअपरेशनकी एसिया क्षेत्रीय निर्देशक डा. अनेटा रेन स्टिग्नरले हस्ताक्षर गरेका छन्।

यो समझदारीअनुसार कुमारी बैङ्कले दिगो बैङ्किङ अभ्यासलाई संस्थागत रूपमा विस्तार गर्न दुई चरणको कार्यक्रम सञ्चालन गर्नेछ। पहिलो चरणमा बैङ्कका कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय अनुभव र अभ्यासका आधारमा दिगो बैंकिङ सम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ भने दोस्रो चरणमा बैङ्कले आफ्ना ग्राहकहरूलाई दिगो वित्तीय उत्पादन र सेवा उपलब्ध गराउने तयारी गर्नेछ।

कुमारी बैङ्कका दिगो बैङ्किङ विभाग प्रमुख अङ्कित गुरुङले यो समझदारी बैङ्कका लागि दिगो बैङ्किङ अभ्यासतर्फको महत्त्वपूर्ण कदम भएको बताए। उनका अनुसार, साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल राष्ट्र बैङ्कको मार्गदर्शनमा बैङ्कले आफ्ना बैङ्किङ गतिविधिलाई दिगो, हरित र समावेशी बनाउने लक्ष्य राखेको छ।

समझदारीअनुसार डोइचे स्पार्कासेनस्टिफ्टुङले आफ्नो विशेषज्ञता र स्रोतसाधन उपलब्ध गराउने छ। यसअन्तर्गत बैङ्कका कर्मचारीहरूलाई तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ। साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्यमहरूको वित्तीय समावेशीकरण तथा दिगो व्यवसाय विकासका लागि डिस्क बिजनेस गेम पनि सञ्चालन गरिनेछ।

कुमारी बैङ्क नेपालका पुराना वित्तीय संस्थामध्ये एक हो। हाल बैङ्कले देशभर २७ शाखा, ३०३ एटिएम, ४० शाखारहित बैङ्किङ एकाइ र ४१ वटा बैङ्किङ एकाइसहित १,१०० भन्दा बढी एजेन्ट नेटवर्कमार्फत आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।

यो सहकार्यले नेपालको दिगो आर्थिक विकास र हरित तथा समावेशी वित्तीय प्रणालीतर्फको यात्रामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ