arrow

प्रतिनिधि सभा

दृष्टिविहीनलाई भत्ता होइन, योग्यता अनुसारको रोजगारी देऊ [भिडियो]

सबै कुरा चिटिक्क पार्न खोज्ने सरकारले नागरिकको जीवन पनि हेरोस् : हर्कराज राई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
harka-03-24.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सडकपेटीमा गुजारा गरिरहेका दृष्टिविहीन नागरिकहरूका लागि तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले काठमाडौँका सडकपेटीमा गीत गाएर गुजारा गर्दै आएका दृष्टिविहीनहरूलाई सरकारले धरपकड गरी हटाउन थालेको भन्दै आपत्ति जनाए। रोजगारीको माग गर्दै दृष्टिविहीन नागरिकहरूले माइतीघर मण्डलामा धर्नासहित विरोध प्रदर्शन गरेको दुई हप्ताभन्दा बढी भइसक्दा पनि सरकारले कुनै ध्यान नदिएकोमा उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले दृष्टिविहीन नागरिकहरूले बसीबसी भत्ता खान नखोजेको बरु आफ्नो क्षमताअनुसारको काम मागेकाले उनीहरूको रोजगारी पाने संवैधानिक हकको सम्बोधन गर्न सरकारलाई सचेत गराए।

संसद्मा बोल्दै अध्यक्ष राईले भने, ‘आन्दोलनरत दृष्टिविहीन साथीहरूको माग हामीलाई भत्ता चाहियो, बसीबसी खान्छौँ भन्ने होइन रहेछ। उहाँहरूले फोन रिसिभ गर्ने जस्ता बसेर गर्न सकिने कामहरू सरकारले उपलब्ध गराओस् भन्ने माग राख्नुभएको छ। यदि त्यो रोजगारी दिन सकिँदैन भने उहाँहरू सडकपेटीमा गीत गाएर गुजारा चलाउँदै हुनुहुन्थ्यो, जहाँ अहिले सरकारले गाउन दिइरहेको छैन।’

सरकारको कार्यशैलीमाथि व्यङ्ग्य गर्दै उनले थपे, ‘अहिलेको सरकारलाई सबै कुरा चिटिक्क परेको मात्रै मन पर्छ। तर सबै नागरिकको जीवन चिटिक्क परेको हुँदैन। हामीले आफू जस्तो अरूलाई सम्झनु हुँदैन। कि त उहाँहरूलाई सडकमै गीत गाएर गुजारा चलाउने वातावरण दिनुपर्‍यो, होइन भने रोजगारीको प्रबन्ध मिलाउनुपर्‍यो। एकैचोटि सबैलाई दिन नसकिए पनि यो महिनादेखि १०–१५ जनाबाट सुरु गरेर भए पनि रोजगारी दिन थालियोस्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ