ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, संसदमा कांग्रेसको आवाजपछि खटाइयो कर्मचारी
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
317
Shares
काठमाडौँ। पर्साको ठोरीमा भारतीय सवारी साधनलाई प्रवेशमा रोक लगाइएको विषय प्रतिनिधि सभा बैठकमा उठेपछि तत्कालका लागि अस्थायी समाधान निकालिएको छ।
नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले असार २२ गतेको प्रतिनिधि सभाको बैठकमा ठोरीमा भारतीय पर्यटकका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको विषय उठाएकी थिइन् ।
उनले ठोरीमा रहेको छोटी भन्सार कार्यालयको भवनमा कर्मचारी ब्यवस्थापन गरेर पर्यटकका सवारी साधनलाई भन्सार रसिद काटेरै सहज आवागमन सुनिश्चित गर्नुको साटो उल्टै पर्यटकका सवारी साधन फर्काइएको भन्दै तत्काल कर्मचारी राखेर भन्सार कार्यालय संचालन गर्न र भन्सार गरेरै पर्यटकका सवारीसाधन आउने वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
त्यसलगत्तै वीरगञ्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीमा रहेको छोटी भन्सार कार्यालयमा दुई जना कर्मचारी खटाएको हो। वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृतसमेत रहेका सूचना अधिकारी उदयसिंह विष्टले ठोरी छोटी भन्सारमा एक जना सुब्बा तहका कर्मचारी र अर्का एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी खटाइएको जानकारी दिए।
`ठोरीको छोटी भन्सारमा सुब्बा र कार्यालय सहयोगी गरी तत्कालका लागि दुई जना कर्मचारी खटाइएको छ, त्यहीबाट भारतीय सवारी साधनलाई निःशुल्क रुपमा नै अस्थायी पास उपलब्ध गराइने ब्यवस्था भएको छ´, भन्सार अधिकृत विष्टले भने।
उनका अनुसार ठोरीको छोटी भन्सार कार्यालयबाट नै भारतीय सवारीसाधनका लागि अस्थायी प्रवेश पास उपलब्ध गराउन शुरू गरिएको छ। पास वाहक सवारीसाधन ठोरी क्षेत्रमा मात्र संचालन हुन सक्ने छन् ।
`हालका लागि ठोरी क्षेत्रमा मात्र संचालन हुन पाउने गरेर पास दिइएको छ, बाँकी विषयमा मन्त्रालयबाट केही निर्णय होला, हामीले पत्र पठाएर मन्त्रालयमा जानकारी गराइसकेका छौँ,´ विष्टले अगाडि भने।
असार १९ गतेदेखि ठोरीमा सशस्त्र प्रहरीले `माथिको आदेश´ भन्दै भारतीय पर्यटकहरुका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएको थियो। सो अवस्थापछि ठोरीका स्थानीय पर्यटन ब्यवसायीहरूले विरोध जनाएका थिए भने उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई समेत निर्णय सच्याउन भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
पछिल्लो समय ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ। ठोरीमा दर्जनौं होटल तथा रिसोर्टहरु भारतीय पर्यटकलाई लक्षित गर्दै संचालनमा ल्याइएको छ भने सयौँ ब्यक्तिले स्थानीय स्तरमा नै रोजगारी पाएका छन् ।
ठोरीमा अहिले दैनिक दुई सय भन्दा बढी निजी भारतीय सवारीसाधन मार्फत पर्यटकहरु आउने गरेका छन् भने पछिल्लो समय यहाँको पर्यटन ब्यवसाय चलायमान हुँदै गइरहेको छ। तर भारतीय सवारीसाधन आवागमनमा अवरोध हुँदा यहाँको पर्यटकीय गतिविधि ठप्प बनेको थियो ।