arrow

सकियो काठमाडौँ महानगरको १९औँ अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
sunita-dangol-83-3-26.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते शुरू भएको उक्त अधिवेशन बिहीबारको छैटौँ बैठकसँगै सकिएको हो ।

बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । सो क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानूनमा समसामयिक संशोधनसम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेस गरेकी थिइन् ।

पेस गरिएका विषयमाथि नगरसभा सदस्यहरू विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राखेका थिए । 

बैठकमा व्यक्त धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभा अध्यक्ष एवं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सभामा निर्णयार्थ पेस गरेकी थिइन् । 

ती विधेयकसँगै सभाको पाँचौँ बैठकमा पेस भएका न्यायिक समिति, लेखा समिति र सुशासन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यले दिएको सुझाव समेटेर निर्णयका लागि पेस भएका थिए ।

पेस भएका प्रस्ताव सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डङ्गोलले नगरसभाको बैठक सम्पन्न भएको घोषणा गरेकी थिइन् । उनले स्वीकृत कार्यक्रमको सफल कार्यान्वयनबाट मतदाता, महानगरवासी र राजधानी सहर आश्रितको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न सम्बद्ध सबैलाई आग्रह गरिन् ।

बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गरेकी थिइन् । उक्त प्रस्ताव यही असार १ गतेको अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो । 

यस्तै, असार ४ गतेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आव २०८३/८४ का लागि काठमाडौँ महानगरपालिकाको रु २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव पेस गरेकी थिइन् । 

सोही बैठकमा उनले आव २०८३/८४ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेस गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ