सरकारी नीतिका कारण गणेश नेपालीले आफ्नै शरीरमा लगाए आगो, सरकारको आलोचना
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
648
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
अपडेट
काठमाडौँ । सरकारी नीतिका कारण आफ्नै ज्यान दिन तयार भएका गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए । उक्त घटनामा गम्भीर रूपमा जलन भएका नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको हो ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (एआईआईएमएस) लैजाने तयारी गरिएको भए पनि अवस्था गम्भीर भएकाले स्थानान्तरण गर्दा खतरा झन् बढ्न सक्ने देखेरै त्यहीँ नै उपचार गर्न विशेषज्ञहरू खटिएका छन् ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए । उनीहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए ।
चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्री वालेन्द्र साह बालेनको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको थियो ।
सरकारमाथि प्रश्न -
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारी नीतिका कारण नेपालीले आगो लगाउनु परेको भन्दै प्रधानमन्त्री बालेनमाथि प्रश्न गरेका छन् । उनले भुइँतहका नागरिकको पीडामा सरकारको निरन्तरको बेवास्ताले नागरिक आत्मदाह गर्न बाध्य भएको भन्दै बालेनमाथि गम्भीर प्रश्न गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा विगतको यस्तै घटनालाई केलाउँदै लेखेका छन्, 'हिजो प्रेमप्रसाद आचार्यले विद्रोह गरे, आफ्नै शरीरमा आगो लगाएर देह त्यागे । आज इन्द्रबहादुर राई र रविन तामाङले नयाँ परिवेशमा पनि ढुक्क हुन सकेनन् आफ्नै जीवन अन्त गरे । र, फेरि आज गणेश नेपालीले सरकारका मुखियाले ढुक्क हुनुस् भने पनि व्यवहारमा महसुस गरेनन् र आफ्नै शरीरमा आगो लगाए। मुखिया ढुक्क हुनुस् भन्ने तर राज्यका निकायहरू निरन्तर कठोर र अमानवीय बन्दा नागरिक कसरी ढुक्क हुन सक्छन् ? भुइँ तहको नागरिकको पीडामा सरकारको निरन्तरको बेवास्ताले नागरिक आत्मदाह गर्न बाध्य भएको छ। 'गरिबको चमेली बोल्दिने मै हुँ ' भन्दै आउनुभएका सरकारका मुखिया बालेन साह तपाईं त्रिपुरेश्वरमा आत्मदाहा गर्न बाध्य पारिएका गणेश नेपालीको शरीरमा लागेको आगोको राप कति महसुस गरिरहनु भएको छ? कि अझै पनि 'ढुक्क हुनुस्' भन्दै फर्जी कुरा गरिरहनु भएको छ ?'
यता आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका– १ का २५ वर्षीय नेपालीको न्यायको माग गर्दै मुगुवासीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
काठमाडौँ महानगर प्रहरी र राज्यको आतंकका कारण नेपालीले आफ्नै शरीरमा आगो लगाएको भन्दै आक्रोशित युवाहरूले दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
उनीहरूले प्रदर्शनका क्रममा प्रधानमन्त्री बालेनविरुद्ध पनि चर्को नाराबाजी गरेका छन् ।
युवाहरूले ‘बेरोजगारलाई गरिखान दे’ ‘घटनाको निश्पक्ष छानबिन गर’ ‘नागरिक मार्न पाइँदैन’ ‘राज्य आतंक बन्द गर’ लगायत नारा लगाउँदै प्रदर्शन गरे ।
उनको बाइकमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि विवाद भएको थियो। उनले पठाओको काम गर्दै आएका थिए । सहजै गरिखान नदिएको भन्दै नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आफ्नै बाइकबाट पेट्रोल निकालेर शरीरमा खन्याइ आगो लगाएको प्रहरीले जनाएको छ।
यो घटनाको सर्वत्र आलोचना भएको छ । सरकारले अनावश्यक राजस्व लगाएको विषय पनि यो घटनासँग जोडिएको छ ।