प्रधानमन्त्री साहको मौनतामाथि कांग्रेस प्रमुख सचेतक थापाको आक्रोश [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
254
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र साहप्रति तीव्र आक्रोश व्यक्त गरेकी छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक थापाले राज्यको आतंक र ज्यादतीका कारण एक जना युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्दा समेत प्रधानमन्त्री साह मौन बसेको भन्दै कडा प्रश्न उठाएकी हुन्।
उनले हिजोको हृदयविदारक घटना हुँदा समेत राज्य मूकदर्शक बनेको र आगोले जलिरहेका घाइतेलाई अस्पताल लैजान एम्बुलेन्स सम्मको व्यवस्था नगरी प्रहरी प्रशासन लगाएर अपराधीझैँ घिसारेर लगिएको आरोप लगाइन्।
"म सरकारलाई सोध्न चाहन्छु– यो उद्धार हो कि गिरफ्तार सरकार? के ऊ देशद्रोही हो? उसले कसको विरुद्ध के अपराध गरेको थियो? उसको गल्ती यही हो कि यही देशमा जन्मियो र आफ्नै देशमा केही गर्ने प्रण गर्यो," थापाले संसदमा भनिन्।
विपक्षमा हुँदा राज्यको हरेक कमजोरीमाथि कठोर प्रश्न उठाउने बालेन्द्र साह आज आफैँ सरकारको नेतृत्वमा पुग्दा नागरिकको चित्कारबाट टाढा भागेको उनको आरोप थियो।
काँग्रेस प्रमुख सचेतक थापाले जनताको ज्यान बचाउनु भन्दा पनि सामाजिक सञ्जालमा मानवीय संवेदनशीलतालाई कुल्चेर 'लाइभ' बनाउने ध्याउन्नमा मानिसहरू लागेको भन्दै दुःख व्यक्त गरिन्।
देशले आशा गरेको नयाँ सरकार आउँदा पनि नागरिकले आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने श्रृंखला नरोकिएको भन्दै उनले राज्य यति विघ्न निरीह र असफल हुनुको कारण प्रधानमन्त्रीसँग माग गरिन्
। साझा यातायातका हरिया बसमा नीलो पोतेर मात्रै नागरिकले सुरक्षाको महसुस गर्न नसक्ने टिप्पणी गर्दै उनले अब सरकारलाई 'कालो चस्मा' खोलेर नागरिकको सुरक्षाका लागि ठोस कदम चाल्न सभामुखमार्फत सचेत गराइन्।