मान्छेको जीवनभन्दा भारी कुनै तर्क हुन सक्दैन, गल्ती स्वीकारेर दीर्घकालीन समाधान खोजौँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
293
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मुगुका गणेश नेपालीको आत्मदाह र मृत्युको घटनालाई लिएर संसद्मा भइरहेको बहसलाई केवल राजनीतिक आरोप-प्रत्यारोपमा सीमित नगरी थप गम्भीर र जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले मृतक नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता दुखद घटना दोहोरिन नदिन राज्य र संसद् दुवैले आ-आफ्नो भागको जिम्मेवारी लिनुपर्ने बताए।
"यो देशमा दैनिक १८ जना मानिसले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो— यसमा गम्भीर छलफल आवश्यक छ," कार्कीले भने। उनले विद्यमान कानुन र नियमका कारण नागरिकले समस्या भोग्नुपरेको भए त्यसको अपजस कानुन बनाउने थलो संसद्ले नै लिनुपर्ने प्रष्ट पारे। अर्को गणेश नेपाली बन्नबाट रोक्नका लागि संसद्भित्र ठोस बहस र कानुन परिमार्जनको पाटो कहाँ छ भन्दै उनले प्रश्न समेत गरे।
आफू सत्ता पक्षको बचाउ गर्न नभई विशुद्ध मानवीय संवेदनाको पक्षमा उभिएको स्पष्ट पार्दै उनले मानवीय जीवनको मूल्यभन्दा ठूलो कुनै तर्क हुन नसक्ने बताए। कार्कीले संसद्मा भने, "मान्छेको जीवनभन्दा भारी तर्क अर्को कुनै पनि हुँदैन। कुनै पनि तर्कले गुमेको मान्छेको त्यो जीवन अन्त्य सही थियो भनेर कसैले दाबी गर्न सक्दैन। त्यो औकात मसँग पनि छैन, यो संसद्सँग पनि छैन, राज्यसँग पनि छैन।"
गणेश नेपालीको मृत्युमा राज्यको कमजोरी र संरचनागत समस्या रहेको स्वीकार गर्दै उनले राज्य व्यवस्थाको यो संरचना अहिले मात्र नभई विगतदेखि नै बन्दै आएकाले यसको दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राखे। घटनालाई थप सनसनीपूर्ण र भावनात्मक बनाउन जरिवानाको अङ्कलाई लिएर मात्रै बहस केन्द्रित गर्नुभन्दा वास्तविक समस्याको चुरो पहिल्याउनुपर्ने उनको भनाइ थियो।
"१० हजार फाइन भनेर भ्रम फैलिरहेको छ। त्यो फाइन १० हजार हो कि होइन भन्नेमा मात्रै चासो भइरहेको छ। अझै बढी दुखान्त र भावनात्मक कसरी बनाउने भन्ने कुरा भइरहेको छ," कार्कीले थपे। उनले यस्ता घटनाबाट पाठ सिक्दै आगामी दिनमा राज्य व्यवस्था र सामाजिक अवस्थाबारे संसद्मा नीतिगत विमर्श चलाउन आग्रह गरे। सम्बोधनको अन्त्यमा उनले संसद्को एउटा हिस्साका रूपमा आफ्नो भागमा पर्ने कमजोरी स्वीकार गर्दै भने, "म मनैदेखि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मेरा भागमा पर्ने गल्तीहरू स्वीकार गर्दछु।"