युवा उत्रिए सडकमा, सरकार र काठमाडौँ महानगरको विरोध [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
277
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। वैदिक सनातन युवा मोर्चाको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले "गरिब मार, आतंक बन्द गर" लगायतका नारासहित युवालाई आत्महत्या जस्तो कदम चाल्न बाध्य पार्ने नीति भएको आरोप लगाए ।
उनीहरूले काठमाडौँ महानगरपालिका र सरकारको विरोध गरेका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि युवाहरू आक्रोशित भएका हुन् ।
वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा उनको आज निधन भएसँगै युवाहरू हत्यारा सरकार भन्दै सडकमा उत्रिएका हुन् ।
भक्तपुरमा डेरा गरी श्रीमती र एक छोरीका साथ बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे। प्रत्यक्षदर्शीका अनुसार बिहीबार उनले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएर लैजाने प्रयास गरेपछि विवाद भएको थियो।
महानगर प्रहरीको ज्यादती र विवाद सहन नसकी उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
घटनामा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। अस्पतालले आज बिहान १० बजे पत्रकार सम्मेलन गर्दै उनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको र थप उपचारका लागि नयाँ दिल्ली रिफर गर्ने तयारी गरिए पनि स्वास्थ्य अवस्था थप बिग्रने खतराका कारण रोक्नुपरेको जानकारी दिएको थियो। त्यसको केही बेरमै उनले वीर अस्पतालमै प्राण त्यागे।
घटनापछि वीर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।