यातायात कानून लगानीकर्ता र यात्रुमैत्री बनाउँछौँ : मुख्यमन्त्री बानियाँ
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
254
Shares
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सडक यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि प्रचलित कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन्।
नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ वार्षिकसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र लगानीमैत्री बनाउने उद्देश्यका साथ आवश्यक कानूनी सुधार अघि बढाइने स्पष्ट पारे।
उनले यातायात व्यवसायीलाई सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयास गर्न आग्रह गर्दै श्रमिकको सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए।
मुख्यमन्त्री बानियाँले प्रदेशका विभिन्न जिल्लामा सडक स्तरोन्नति, कालोपत्रे तथा पक्की पुल निर्माणलाई प्राथमिकतामा राखेर स्पष्ट नीति अघि सारिएको उल्लेख गर्दै पूर्वाधार विकासले यातायात सेवा थप सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले प्रदेशभरका यातायात व्यवसायी र सवारी लगानीकर्ताले सडक यातायात क्षेत्रमा आकस्मिक रूपमा आइपर्ने समस्या समाधानका लागि साझा प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले सवारीसाधनको जिम्मेवारी बोकेर काम गर्ने चालक र सहचालकको हकहित, सुरक्षा तथा अधिकार संरक्षणमा व्यवसायीहरूले विशेष ध्यान दिनुपर्ने बताइन्।
सो अवसरमा यातायात क्षेत्रमा योगदान पुर्याएको भन्दै स्वर्गीय यातायात व्यवसायी श्रीचन्द्र शर्माकी धर्मपत्नी सीता पौडेल तथा पूर्वप्रहरी उपरीक्षक दिलीपराज झालाई सम्मान गरिएको थियो।
नारायणी यातायात व्यवसायी सङ्घको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने सङ्घका महासचिव सरोज खनालले जानकारी दिए। रासस