arrow

बुद्धनगर आत्मदाह: पारिवारिक विवाद नभएको परिवारको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
deepak-raut-27-03.jpg

अपडेट

काठमाडौँ। काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ५० वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा दिउँसो निधन भएको छ ।  

आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि परिवार, छिमेकी र स्थानीयको सहयोगमा उनको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो ।

राउतका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजे परिवार श्राद्धको तयारीमा रहेको बेला उनकी श्रीमती नुहाउन गएकी थिइन्। सोही समयमा राउतले घरबाहिर पार्किङ गरिएको स्कुटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।

घटनापछि आगो देखेर बाहिर आएका परिवारका सदस्य, छिमेकी तथा नजिकैको होस्टेलमा बस्ने युवाहरूले तत्काल आगो निभाई प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनलाई वीर अस्पताल लगिएको दीपकले जानकारी दिए।

दीपकले दिउँसो उनको निधन भएको बताए । 

परिवारका अनुसार राउतको करिब एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि अपेक्षाअनुसार स्वास्थ्यमा सुधार नआएकाले उनी केही समयदेखि मानसिक तनावमा रहेका थिए। थप उपचारको तयारी भइरहेकै अवस्थामा उनले यस्तो कदम चालेको परिवारको भनाइ छ।

यसैबीच घटनालाई पारिवारिक विवादसँग जोडेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति परिवारले आपत्ति जनाएको छ।

दीपक राउतले घटनाको वास्तविकता नबुझी अनुमानका आधारमा समाचार सम्प्रेषण गर्दा परिवारमाथि थप मानसिक दबाब परेको बताए।

प्रत्येक घटनाको प्रकृति फरक हुने भएकाले तथ्य पुष्टि गरेर मात्रै समाचार प्रकाशन गर्न उनले सञ्चारमाध्यमसँग आग्रह गरे।

उनले अहिले परिवार गहिरो शोक र मानसिक तनावमा रहेको उल्लेख गर्दै आधारहीन तथा भ्रामक समाचारले पीडा झन् बढाएको बताए।

साथै, गलत सूचना सच्याउन र जिम्मेवार पत्रकारिता अपनाउन सम्बन्धित सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ