arrow

खरिपाटीबाट सुर्खेत पठाइँदै यान्त्रिक क्रेन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
urja-mantralaya.jpg

काठमाडौँ । कर्णाली प्रदेशमा लामो समयदेखि हुँदै आएको विद्युत् आपूर्तिको सास्ती हटाउन सरकारले विशेष पहलकदमी लिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा कर्णालीमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक पर्ने यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाने क्रममा सुर्खेतलगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङको गम्भीर समस्या रहेको पाइएको थियो। सोही क्रममा नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउँदै ठूला मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको चरम अभाव रहेको जानकारी गराएका थिए।

अनुगमनबाट काठमाडौँ फर्केलगत्तै मन्त्री श्रेष्ठले विद्युत् अवरोधको दिगो समाधानका लागि आवश्यक पर्ने यान्त्रिक क्रेन तत्काल पठाउन नियामक निकायसँग समन्वय थालेका थिए। मन्त्रालय र प्राधिकरणबीच भएको सोही समन्वयले अब सार्थकता पाउन लागेको हो।

"कर्णालीको उक्त व्यावहारिक समस्यालाई सम्बोधन गर्न गरिएको समन्वयले अब सार्थकता पाउँदैछ। आवश्यक कानुनी प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय भएको छ," मन्त्री श्रेष्ठले भने।

यसअघि कर्णालीमा ठूला ट्रान्सफर्मर मर्मत वा लाइनमा समस्या आउँदा छिमेकी लुम्बिनी वा अन्य प्रदेशबाट उपकरण र क्रेन मगाउनुपर्ने बाध्यता थियो, जसका कारण सामान्य मर्मतमा पनि दिनौँ लाग्ने गरेको थियो। अब कर्णालीमै आफ्नै यान्त्रिक क्रेन उपलब्ध भएपछि अन्य प्रदेशको मुख ताक्नुपर्ने बाध्यता अन्त्य हुनेछ। यसले विद्युत् मर्मत तथा सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने मन्त्री श्रेष्ठको भनाइ छ। नागरिकका दैनिक र व्यावहारिक समस्या समाधान गर्ने प्रयास मन्त्रालयले निरन्तर जारी राख्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ