विदेशी संस्कृतिविद्ले नेपालीमै सुनाइन् भानुभक्त रामायण, भावुक बन्यो समारोह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
290
Shares
काठमाडौँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदा काठमाडौंमा भने एक विदेशी संस्कृतिविद्को नेपाली भाषा र संस्कृतिप्रतिको आत्मीयताले सबैको ध्यान खिच्यो।
नेपाली लोकसाहित्य, भाषा र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएकी संस्कृतिविद् डा. आना एम. सिस्टरले नेपालीमै मन्तव्य राख्नुका साथै भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणको श्लोक वाचन र गीत प्रस्तुत गरेपछि कार्यक्रम भावुक र प्रेरणादायी बनेको थियो।
काठमाडौँमा आयोजित विशेष समारोहमा बोल्दै डा. आना एम. सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको स्मरण गरिन्।
नेपाल आउनुअघि क्यासेट सुनेर नेपाली भाषा सिक्न थालेको बताउँदै उनले त्यसबेला कहिल्यै पनि नेपाली भाषा र संस्कृतिको सेवाका लागि यस्ता सम्मान प्राप्त गर्ने ठाउँमा पुग्ने कल्पना नगरेको उल्लेख गरिन्।
उनले आफूलाई प्राप्त सम्मानलाई नेपाली भाषा र संस्कृतिप्रतिको सम्मानका रूपमा लिएको बताइन्।
भानु प्रतिष्ठानका अध्यक्ष दिव्य अर्यालको आग्रहमा उनले भानुभक्तीय रामायणको श्लोक सस्वर वाचन गरिन् भने नेपाली गीतसमेत प्रस्तुत गरिन्।
उनको स्पष्ट नेपाली उच्चारण, लयबद्ध प्रस्तुति र भाषाप्रतिको आत्मीयताले कार्यक्रममा उपस्थित साहित्यकार तथा सहभागीलाई प्रभावित बनाएको थियो।
यस वर्षको भानु जयन्तीमा देशभरका साहित्यिक संस्था, विद्यालय र विश्वविद्यालयले विभिन्न साहित्यिक गोष्ठी, काव्य वाचन तथा प्रवचन कार्यक्रम आयोजना गरेका छन्।
काठमाडौँको रानीपोखरीस्थित भानुभक्त आचार्यको पूर्णकदको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको थियो।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यले संस्कृतको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई जनजनसम्म पुर्याएका थिए।
उनका रामायण, वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला र रामगीता नेपाली साहित्यका अमूल्य कृति मानिन्छन्।
साहित्यकारहरूका अनुसार भानुभक्तको योगदानले नेपाली भाषालाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।