विधि विज्ञान प्रयोगशालाको सफलताका लागि स्रोत र कार्यान्वयन आवश्यक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
306
Shares
काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अध्ययन-अनुसन्धानका प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्तिको अन्त्य गर्दै प्रभावकारी कार्यान्वयन प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पुनले अनुगमन, मूल्याङ्कन र कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले विभिन्न समिति र आयोगले तयार पारेका प्रतिवेदन कार्यान्वयन नहुँदा अपेक्षित परिणाम नआएको उल्लेख गर्दै निर्देशन दिने र त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने संयन्त्र आवश्यक रहेको बताए।
आफू शिक्षामन्त्री रहँदा पनि धेरै अध्ययन प्रतिवेदन कार्यान्वयनविहीन बनेको अनुभव सुनाउँदै उनले प्रतिवेदनलाई व्यवहारमा लागू गर्ने संस्कार विकास गर्नुपर्ने धारणा राखे।
मन्त्री पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको भन्दै सम्बन्धित प्राविधिकलाई मात्र तालिम दिने व्यवस्था गर्नुपर्ने बताए। भत्ता वा भ्रमणका लागि असम्बन्धित व्यक्तिलाई तालिममा पठाउने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ थियो।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रयोगशालाको काम, कर्तव्य र अधिकार व्यापक भए पनि त्यसको कार्यान्वयनका लागि आवश्यक जनशक्ति, पूर्वाधार, उपकरण र वित्तीय स्रोत व्यवस्थापनको जिम्मेवारी विधेयकमा स्पष्ट हुनुपर्ने बताइन्। उनले सञ्चालक समितिलाई स्रोत व्यवस्थापनको जिम्मेवारीसमेत कानुनी रूपमा तोक्नुपर्ने सुझाव दिइन्।
समितिको बैठकमा विधेयकका विभिन्न प्रावधानमाथि सांसद, मन्त्रालयका सचिव, विषय विज्ञ तथा सरोकारवालाबीच सुझाव र संशोधनका विषयमा विस्तृत छलफल भएको थियो।