arrow

प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने कांग्रेसको प्रतिबद्धता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
bhisma-raj-angdembe-29-03.jpg

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीभित्रबाट बलियो र प्रभावकारी आवाज उठ्न सके संसद् पनि सशक्त बन्ने बताएका छन्। उनले घर (पार्टी) बलियो भए सदन पनि बलियो हुने भन्दै सांसदहरूको ऊर्जा र विवेक पार्टीभित्रकै वातावरणबाट निर्माण हुने धारणा राखे।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा जिम्मेवारीपूर्वक काम गरिरहेको दाबी गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सरकारलाई खबरदारी गर्ने प्रतिबद्धता जनाए। उनले प्रतिपक्षको भूमिका निराशाजनक नभए पनि त्यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।

आङदेम्बेले संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ मजबुत हुनुपर्नेमा जोड दिँदै संसद् हेर्ने पत्रकारहरूलाई ‘तेस्रो आँखा’को संज्ञा दिए। पत्रकारहरूले सांसदले नदेखेका विषय पनि देख्ने भएकाले उनीहरूको सुझाव, आलोचना र विश्लेषणले संसदीय अभ्यासलाई थप परिपक्व बनाउने उनको भनाइ थियो।

उनले संसदीय समितिहरू गम्भीर छलफल र निर्णयका प्रमुख थलो भए पनि कतिपय अवस्थामा तिनलाई प्रभावहीन बनाउने प्रयास भइरहेको अनुभूति भएको बताए। समितिको गरिमा जोगाउँदै संसद्को प्रभावकारिता बढाउन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने उनको धारणा थियो।

आङदेम्बेले प्रतिपक्षले पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्दै भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै विगतका राजनीतिक अभ्यासको मूल्याङ्कन इतिहासले गर्ने बताए। उनले वर्तमानमा मुलुकको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

सभामुखको भूमिकाप्रति टिप्पणी गर्दै उनले सभामुख कुनै दलको नभई सम्पूर्ण संसद्को प्रतिनिधि भएकाले निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताए।

साथै उनले कांग्रेसका पदाधिकारीहरूले व्यक्तिगत धारणा सार्वजनिक गर्नुभन्दा पार्टीको संस्थागत धारणा प्रमुख सचेतक, सचेतक तथा नेतृत्वमार्फत सञ्चारमाध्यममा राख्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ