काठमाडौँ। माइतीघरको सडकमा दिनभर मानिसहरूको आवतजावत चलिरहन्छ । तर कोही आफ्ना मागसहित आउँछन्, कोही आवाज उठाउन सडक रोज्छन् । माइतीघर मण्डला परिसरमा प्रायः मागसहितका ब्यानर र प्ले कार्ड छुट्दैनन्।
घामपानीबाट जोगिन लगागार टेन्ट लगाइएको छ । त्यही टेन्टमा बसेर एक महिला आफ्नो पीडा सुनाइरहेकी छन् ।
आँखामा पीडा र आवाजमा आक्रोश लिएर उनी न्यायका लागि माइतीघरमा उत्रिएकी हुन् । उनी हुन् मोरङ सुन्दरहरैचा-७ की देविका खनाल ।
दुर्घटनापछि आफ्नो जीवन नै परिवर्तन भएको बताउने खनाल अहिले न्यायको माग गर्दै काठमाडौँको सडकबाट न्याय खोजिरहेकी छिन् ।
२०८१ साल फागुन २२ गते सुनसरीको रामधुनी नगरपालिका-३ मा भएको दुर्घटनाले देविकाको जीवनको बाटो नै बदलिदियो।
देविकाका अनुसार दुर्घटना गराउने व्यक्ति इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापा हुन्। उनले दुर्घटनापछि आफूलाई आवश्यक उपचार नगराएको, घटनाको जिम्मेवारीबाट पन्छिएको र आफूलाई अपाङ्ग अवस्थामा पुर्याएर बेवास्ता गरेको आरोप लगाएकी छन्।
सामान्य जीवन बिताइरहेकी उनी अहिले हिँड्न नसक्ने अवस्थामा पुगेकी छन्। उनका अनुसार दुर्घटनापछि कम्मरदेखि तलको भागमा गम्भीर चोट लागेको छ। पटक-पटक शल्यक्रिया गरिए पनि पूर्ण रूपमा निको हुन नसकेको उनको भनाइ छ।
खनालले दुर्घटना आफैंमा कसैको नियन्त्रणमा नहुने भए पनि दुर्घटनापछि देखाइने जिम्मेवारी र व्यवहार महत्वपूर्ण हुने बताइन्।
‘दुर्घटना जसलाई पनि पर्न सक्छ। सडकमा हिँड्दा दुर्घटना हुन सक्छ । तर गल्ती भइसकेपछि त्यसको सामना गर्नुपर्छ। पीडितको उपचार र हेरचाहको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन् ।
उनका अनुसार दुर्घटनापछि वडाध्यक्ष थापा केही समय सम्पर्कमा आए पनि अहिले उपचार र आवश्यक सहयोगबाट टाढिएको उनको आरोप छ।
सहारा भनेकै छोरी मात्र
देविकाको जीवनमा दुर्घटना आउनुअघि पनि संघर्ष कम थिएन । उनी एकल महिला हुन् । घरको जिम्मेवारी, छोरीको भविष्य र आफ्नो उपचारको चिन्ता अहिले उनको काँधमा छ ।
उनले आफ्नो १३ वर्षीया छोरीको पढाइ र भविष्यप्रति सबैभन्दा ठूलो चिन्ता रहेको बताइन् ।
‘म एकल महिला हुँ। मेरो एउटा छोरी छिन्। आमा हुनुहुन्छ। मेरो खुट्टा चलेन भने परिवार कसरी चलाउने भन्ने चिन्ता छ,’ उनले भनिन् ।
उनका अनुसार दुर्घटनापछि उनी आर्थिक रूपमा समेत कमजोर बनेकी छन् । काम गरेर परिवार चलाउँदै आएकी उनी अहिले अरूको सहयोगमा निर्भर हुनुपरेको बताउँछिन् ।
‘म काम गरेर खाने मान्छे हुँ। मेरो शरीर नै काम गर्न नसक्ने भएपछि मेरो परिवारको अवस्था के हुन्छ, मेरो छोरीलाई कसरी पढाउने ?’ उनले प्रश्न गरिन् ।
देविकाले आफूले कुनै ठूलो रकमको माग नगरेको बताइन्। उनको मुख्य माग उपचार र दोषीमाथि कानूनी कार्बाही रहेको छ।
उनका अनुसार दुर्घटनापछि मिलापत्रका लागि पाँच लाख रुपैयाँको प्रस्ताव आएको थियो। तर उनले उक्त रकम आफ्नो जीवनको क्षतिसँग तुलना गर्न नसकिने बताइन् ।
‘मेरो जिन्दगी पाँच लाख रुपैयाँ होइन। स्वास्थ्य राम्रो भयो भने आफैं कमाउन सक्छु। तर शरीर नै बिग्रियो भने त्यो पैसाले के गर्छ ?’ उनले भनिन् ।
उनले आफूलाई आवश्यक पर्ने उपचार सुनिश्चित हुनुपर्ने र भविष्यमा बाँच्न सक्ने आधार तयार गरिनुपर्ने माग राखेकी छन् ।
कानून गरिब र धनीका लागि बराबर हुनुपर्छ
देविकाले आफूले प्रहरी प्रशासनदेखि विभिन्न निकायसम्म न्यायका लागि पुगे पनि अपेक्षित सहयोग नपाएको गुनासो गरिन् ।
उनका अनुसार दुर्घटनापछि शुरूमा जाहेरी दर्ता गर्नसमेत समस्या भएको थियो। उच्च अदालत मोरङ पुगेपछि अदालतको आदेशमार्फत मात्रै मुद्दा प्रक्रिया अघि बढेको उनको भनाइ छ। उनले कानून सबैका लागि बराबर हुनुपर्ने बताइन्।
‘गरिब र धनीका लागि कानुन एउटै हुनुपर्छ। पैसा र पहुँच भएकाले न्याय पाउने र कमजोर मानिसले संघर्ष गर्नुपर्ने अवस्था हुनुहुँदैन,’ उनले भनिन् ।
देविकाका अनुसार गत चैत ३० गते दुई पक्षबीच छलफल भएर केही विषयमा सहमति भएको थियो । उक्त सहमतिमा उपचार खर्च, आगामी उपचार र छोरीको शिक्षाको विषय समेटिएको उनको भनाइ छ । तर सम्झौता कार्यान्वयन नभएको उनले आरोप लगाइन् ।
उनले भनिन्, ‘सम्झौतामा अहिलेसम्म लागेको बिल तिर्ने, वैशाख १० गतेसम्म अस्पताल लगेर पूर्ण उपचार गर्ने र छोरीलाई १२ कक्षासम्म पढाउने कुरा भएको थियो। तर त्यो कार्यान्वयन भएन।’
उनले आफूलाई सम्झौतामा हस्ताक्षर गराउनुअघि पीडितको रूपमा पर्याप्त जानकारी र सहमति लिनुपर्ने बताइन् ।
‘म नै पीडित हुँ, मेरो जीवनसँग सम्बन्धित विषयमा मेरो कुरा नसुनि निर्णय हुनुहुँदैन,’ उनले भनिन् ।
माइतीघरमा बसेकी देविकाले आफू राज्यसँग लड्न नभई राज्यबाट न्याय खोज्न आएको बताइन् ।
उनका अनुसार गृहमन्त्री सुधन गुरुङले आफूलाई न्याय दिलाउने आश्वासन दिएका छन्। त्यसैको भरोसामा आफू बसेको उनले बताइन् ।
‘म विरोध गर्न आएको होइन। म न्याय माग्न आएको हुँ। एउटा अपराधीलाई अनुसन्धान गरेर सत्य-असत्य छुट्याइदिनुपर्छ । राज्यले अपराधी र पीडित छुट्याउनुपर्छ,’ उनले भनिन् ।
उनले दोषीमाथि अनुसन्धान गरेर सत्य बाहिर ल्याउनुपर्ने माग गरिन्।
देविकाले आफू माइतीघरमा जीवन समाप्त गर्न नभई न्याय पाउन आएको बताइन्। शारीरिक पीडा, आर्थिक समस्या र मानसिक तनावबीच पनि न्यायको आशा नछाडेको उनको भनाइ छ ।
‘म मर्न आएको होइन। म न्याय माग्न आएको हुँ,’ उनले भनिन्। उनले आफ्नो जस्तो अवस्था अरू कसैको नहोस् भन्ने उद्देश्यले पनि आवाज उठाइरहेको बताइन्।
देविका अहिले उपचार, कानूनी प्रक्रिया र राज्यको निर्णयको प्रतीक्षामा छन्। दुर्घटनाले रोकिएको आफ्नो जीवन फेरि सामान्य बनाउने उनको चाहना छ ।
उनको माग एउटै छ, पूर्ण उपचार, निष्पक्ष अनुसन्धान र न्याय । यता, वडा अध्यक्ष सुमन थापाको पक्षबाट भने यस विषयमा आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।