काठमाडौँ । लगातारको वर्षाले काठमाडौँबाट बाहिर जाने सवारीहरू रोकिराखिएकामा बिहान १० बजेदेखि खुलेका छन् । वर्षामा कमी र बिग्रेको सडक बनाएपछि सवारीहरू गन्तव्यमा जान थालेका हुन् ।
यसअघि सोमबार रातिदेखि पृथ्वी राजमार्गलगायत अन्य राजमार्ग बन्द हुँदा अड्किएका गाडीहरु गन्तव्यतर्फ जान थालेका हुन्।
योसँगै काठमाडौँको नयाँ बसपार्कमा चहलपहल बढेको छ। लामो दूरीका सवारी साधनहरू बसपार्कबाट निस्किने क्रम जारी रहेको छ भने यात्रुहरू पनि आउने क्रम चलेको छ ।
यसअघि वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको थियो । बसपार्क, नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन बन्द गरिएको थियो ।