arrow

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न - श्री ८ वालेन्द्र साहलाई प्रश्न गर्न पाइँदैन?[भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
niskal-rai-30-03.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) नेतृत्वको सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन्।

उनले नागरिक, प्रतिपक्ष र सञ्चारमाध्यमले उठाएका प्रश्नको जवाफ दिनुको सट्टा सरकार प्रश्न गर्ने आवाज नै दबाउनतर्फ उन्मुख भएको दाबी गरे।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीमाथि व्यंग्य गर्दै भने, ‘श्री ८ वालेन्द्र साहलाई प्रश्न गर्न पाइँदैन।’

उनले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएका तत्कालीन बालेन साह र अहिले प्रधानमन्त्री बनेपछि प्रश्न सुन्न नचाहने बालेन साहबीच ठूलो अन्तर देखिएको टिप्पणी गरे।

‘कुनै बेला "बोल्न दे सरकार, गरिबको चमेली बोलिदिने कोही छैन" भन्ने बालेन्द्र साह र अहिलेका प्रधानमन्त्री एउटै व्यक्ति हुन् कि होइन भन्ने प्रश्न उठेको छ,’ उनले भने।

राईले भागवत पुराणको हिरण्यकश्यप-प्रह्लाद प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि अंकुश लगाउने शासन व्यवस्था अन्ततः असफल हुने बताए।

‘हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे। उनको राज्यमा उनीबाहेक अरू कसैलाई सत्य बोल्न वा प्रश्न गर्न पाइँदैनथ्यो। तर प्रह्लादले सत्य बोलेपछि त्यही अपराध ठहरियो। आज पनि प्रश्न गर्ने अधिकारमाथि अंकुश लगाउने प्रवृत्ति देखिएको छ,’ उनले भने।

उनले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सडकमा उत्रिएका युवाले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएको स्मरण गर्दै अहिले त्यही सरकार प्रश्न उठाउनेहरूलाई नै निशाना बनाइरहेको आरोप लगाए।

मुगुका राइड-सेयरिङ चालक गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको मृत्युको प्रसंग उठाउँदै राईले सरकारले आत्मसमीक्षा गर्नुको सट्टा प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजलाई दबाउने प्रयास गरेको दाबी गरे।

‘एउटा नागरिकले ज्यान गुमाउँदा सरकारले आत्मसमीक्षा गर्नुपर्ने थियो। तर प्रश्न उठाउनेमाथि नै प्रतिशोध साँध्ने काम भयो,’ उनले भने।

राईले गृहमन्त्रीले संसद्मा दिएको जवाफ पनि धम्कीपूर्ण रहेको आरोप लगाए। एक सय ८२ सिटको बहुमतले सरकारलाई संविधान र लोकतान्त्रिक मूल्यभन्दा माथि जाने अधिकार नदिने उल्लेख गर्दै उनले नागरिकको आवाज दबाउने कुनै अधिकार सरकारसँग नरहेको बताए।

‘बहुमतले संविधानभन्दा माथि जाने अधिकार दिँदैन। प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का बहुमतले दिएको छैन,’ उनले स्पष्ट पारे।

सांसद राईले राज्यका सुरक्षा निकायसमेत अनौपचारिक शक्ति केन्द्रको प्रभावमा सञ्चालन हुन थालेको आरोप लगाए। कांग्रेस महामन्त्री गगन थापाको निवास, सञ्चारमाध्यमका कार्यालय र व्यापारिक प्रतिष्ठान अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनालाई उनले ‘अलोकतान्त्रिक हर्कत’ र ‘राज्य आतंकको संकेत’ को संज्ञा दिए।

‘सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूले राज्य चलाइरहेका छन्, तर सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर बसेका छन्,’ उनले कटाक्ष गरे।

अन्त्यमा राईले सरकारलाई निरंकुशताको बाटो त्यागेर संविधान, लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको प्रश्न गर्ने अधिकारको सम्मान गर्दै अघि बढ्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ