मनसुनमा बालबालिकाको अधिकार संकटमा, सरकारलाई ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
172
Shares
काठमाडौँ। बालबालिकालाई शान्ति क्षेत्र राष्ट्रिय अभियानले मनसुनजन्य विपद् तथा बालबालिकामाथि हुने दुर्व्यवहार र हिंसाबाट प्रभावित बालबालिकाको संरक्षण, शिक्षा निरन्तरता र जोखिम न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
अभियानले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् तथा बालबालिकामाथि भइरहेका विभिन्न प्रकारका दुर्व्यवहार र हिंसाका कारण उनीहरूको जीवन, सुरक्षा, शिक्षा तथा समग्र अधिकारमा गम्भीर असर पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको हो।
काठमाडौँको कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टरमा बागमती नदीमा आएको बाढीका कारण परिवारहरू अन्यत्र स्थानान्तरण हुँदा धेरै बालबालिकाका विद्यालय पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री तथा दैनिक उपयोगका सामग्री नष्ट भएको अभियानले जनाएको छ ।
अभियानका अनुसार विपद्बाट प्रभावित बालबालिकालाई तत्काल वैकल्पिक शैक्षिक सामग्री, आवश्यक राहत तथा विद्यालयमा नियमित उपस्थित हुने वातावरण सुनिश्चित गर्न आवश्यक छ ।
यस्तै सिरहाको गोलबजार नगरपालिका-७ मा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको तथा बाराको कलैया उपमहानगरपालिका-११ घोघडरियास्थित पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति अभियानले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
अभियानले सार्वजनिकस्थल, निर्माण क्षेत्रका जोखिमयुक्त खाल्डाखुल्डी, पानी जम्ने स्थान तथा असुरक्षित संरचनाको उचित व्यवस्थापन नहुँदा बालबालिकाले ज्यान गुमाउनुपर्ने अवस्था अझै रहेको जनाएको छ ।
बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै बाढी तथा डुबान प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न आवश्यक शैक्षिक तथा आधारभूत सामग्री तत्काल उपलब्ध गराउन, जोखिमयुक्त स्थानको सुरक्षित व्यवस्थापन गर्न र मनसुन अवधिभर बालबालिकाको सुरक्षा तथा उद्धारका लागि स्थानीय तहमा प्रभावकारी पूर्वतयारी र द्रूत प्रतिकार्य संयन्त्र सक्रिय बनाउन अभियानले आग्रह गरेको छ ।
त्यस्तै, विपद्बाट प्रभावित बालबालिकालाई बालमैत्री राहत, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा आवश्यक संरक्षण सेवा उपलब्ध गराउन र समुदाय, विद्यालय, अभिभावक तथा बालबालिकाबीच विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न पनि अभियानले माग गरेको छ ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलले प्राकृतिक विपद्का समयमा बालबालिकाको जीवन, सुरक्षा, शिक्षा र संरक्षणको अधिकार कुनै पनि अवस्थामा प्रभावित हुन नदिनु राज्य तथा सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताए।