arrow

सङ्घीय संसद्

प्रतिनिधि सभामा आयोगका प्रतिवेदन पेस हुँदै [लाइभ]

अर्थ र श्रम सम्बन्धी प्रस्ताव कार्यसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज बुधबार प्रतिनिधि सभाको बैठक जारी छ। संसद् सचिवालयले तय गरेको दैनिक कार्यसूची अनुसार आजको बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने तथा महत्त्वपूर्ण विधेयक एवं अन्तर्राष्ट्रिय महासन्धिका प्रस्तावहरूमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढाउने तयारी छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले देशका तीनवटा संवैधानिक तथा राष्ट्रिय निकायका वार्षिक प्रतिवेदनहरू सदनमा पेस गर्ने कार्यसूची रहेको छ। जसमा राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्तसम्म), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/०८२) र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/०८२) रहेका छन्।

यसै गरी आजैको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सदनमा सैद्धान्तिक छलफल सुरु गरियोस् भनी 'विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

यसका साथै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित श्रम अधिकार र निरीक्षणका महत्त्वपूर्ण कानुनी दस्ताबेजहरू सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ माथि सदनमा छलफल गरियोस् र त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन्। साथै मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् र उक्त महासन्धिलाई नेपालको तर्फबाट अनुमोदन गरियोस् भन्ने प्रस्ताव समेत बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ