धितोपत्र बजार सुधारदेखि ग्यास आपूर्ति र विधि विज्ञान प्रयोगशाला विधेयकसम्मका विषयमा छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
53
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज बुधबार तीनओटा विषयगत संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज बस्ने समिति बैठकहरूमा धितोपत्र बोर्डको कार्यप्रगति, खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयकमाथि सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ।
आज बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ मा नेपाल धितोपत्र बोर्डबाट भएगरेका मुख्य–मुख्य कामकारबाहीको समीक्षा गरिनेछ। सो बैठकमा धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू, हासिल भएका उपलब्धिहरू र सेयर लगानीकर्ताहरूको हित संरक्षणका लागि बोर्डले चालेका कदमहरूबारे विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।
यसैगरी, आज बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आम उपभोक्तासँग प्रत्यक्ष जोडिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा देखिएका पछिल्ला समस्याहरू र त्यसले उपभोक्तामा पारेको प्रभावका सम्बन्धमा केन्द्रित रहेर छलफल हुनेछ। ग्यास आपूर्तिलाई सहज बनाउन र उपभोक्ता हितको संरक्षण गर्न समितिले सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिने बुझिएको छ।
यस्तै, बिहान साढे ८ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ। अनुसन्धान र न्याय सम्पादनलाई वैज्ञानिक एवं विश्वसनीय बनाउन स्थापना गरिने प्रयोगशालाको सङ्गठनात्मक संरचना र सञ्चालन प्रक्रियाका कानुनी प्रावधानबारे बैठकमा सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन्।