सरकारले लक्ष्यको ८३ प्रतिशत राजश्व उठायो, एकै दिन २१ अर्बभन्दा बढी संकलन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
185
Shares
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले वार्षिक राजश्व लक्ष्यको करिब ८३ प्रतिशत संकलन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गतेसम्म सरकारले १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजश्व संकलन गरेको हो, जुन वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ लक्ष्यको ८२.७६ प्रतिशत हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजश्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष असार मसान्तसम्म ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजश्व उठेको थियो।
यसअनुसार चालु वर्षमा राजश्व संकलन ७.४० प्रतिशत अर्थात् ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँले बढेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
संकलित राजश्वमध्ये सबैभन्दा ठूलो हिस्सा कर राजश्वको रहेको छ। असार ३१ गतेसम्म सरकारले ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजश्व संकलन गरेको छ, जुन कर राजश्व लक्ष्यको ८३.४३ प्रतिशत हो।
त्यस्तै एक खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ गैरकर राजश्व संकलन भएको छ, जुन गैरकर राजश्व लक्ष्यको ७६.९९ प्रतिशत हो।
गत वर्षको तुलनामा यस वर्ष कर राजश्व ७.३४ प्रतिशत र गैरकर राजश्व ८.०२ प्रतिशत ले वृद्धि भएको तथ्यांकले देखाएको छ।
वैदेशिक अनुदान प्राप्तिमा पनि यस वर्ष सुधार देखिएको छ। सरकारले चालु वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ५८.५ प्रतिशत अनुदान प्राप्त भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३४.७५ प्रतिशत बढी हो।
आर्थिक वर्षको अन्तिम चरणमा राजश्व संकलन तीव्र हुने परम्पराअनुसार असार ३१ गते मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजश्व उठाएको छ। यसमध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजश्व रहेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम दिन थप राजश्व संकलन हुने भएकाले कुल संकलनको दर अझै बढ्ने अपेक्षा गरिएको छ।
हालको तथ्यांकले राजश्व संकलनमा सुधारको संकेत गरे पनि सरकारले निर्धारण गरेको वार्षिक लक्ष्य भने पूर्ण रूपमा हासिल हुने सम्भावना कम देखिएको छ।