युद्धविरामको एक महिना बितिसक्दा पनि गाजामा रोकिएन इजरायली आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
188
Shares
काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन। पछिल्लो दुई दिनमा भएका विभिन्न आक्रमणहरूमा प्रहरी अधिकारीसहित कम्तीमा एक दर्जन प्यालेस्टिनीहरूको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
अल अक्सा अस्पतालका अनुसार बुधबार मध्य गाजामा एकै परिवारका तीन जनाको हवाई आक्रमणमा मृत्यु भएको छ। त्यसअघि मङ्गलबार उत्तरी गाजाको घना बस्ती रहेको जबलिया शरणार्थी शिविरस्थित प्रहरी चौकीमा इजरायलले आक्रमण गरेको थियो। उक्त आक्रमणमा चौकीका प्रमुख तथा वरिष्ठ प्रहरी कमान्डर कर्नेल मोहम्मद मारवान सलेमसहित छ जना प्रहरी अधिकारी र एक महिलाको ज्यान गएको छ।
यस्तै, दक्षिणी सहर खान युनुसको टेन्ट शिविरमा भएको बम विस्फोटमा एक जनाको र रफाहबाहिरको मुवासी क्षेत्रमा इजरायली सैनिकको गोली लागेर एक बालकको मृत्यु भएको अस्पताल अधिकारीहरूले बताएका छन्।
इजरायली सेनाले जबलियाको घटनाबारे प्रतिक्रिया दिँदै मारिएका प्रहरीमध्ये चार जना हमासका लडाकू रहेको दाबी गरेको छ। सेनाले सैन्य प्रयोजनका लागि प्रयोग भएका वा सशस्त्र गतिविधिमा संलग्न व्यक्तिहरू रहेका प्रहरी चौकीलाई वैध सैन्य लक्ष्य मान्ने नीति दोहोर्याएको छ। तर, उनीहरू सैन्य गतिविधिमा संलग्न रहेको कुनै प्रमाण इजरायलले सार्वजनिक गरेको छैन। हमासले भने उक्त प्रहरी बलले केवल कानून–व्यवस्था कायम गर्ने जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ।
इजरायलको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिजका अनुसन्धानकर्ता ओफेर गुटेरम्यानले हमासको केही प्रहरी संरचना र सैन्य संयन्त्र एकअर्कासँग जोडिएको तथा ती संरचनाहरू हतियार भण्डारण र रसद आपूर्तिमा प्रयोग भएको इजरायलको बुझाइ रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले गाजामा नागरिक प्रहरीमाथि भइरहेका इजरायली आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। कार्यालयका अनुसार सन् २०२६ मा मात्रै ट्राफिक व्यवस्थापन र बजार क्षेत्रमा गस्ती गरिरहेका प्रहरी कर्मचारीमाथि कम्तीमा एक दर्जन आक्रमण भएका छन्। प्रहरी र सशस्त्र समूहका सदस्यबीच इजरायली सेनाले पर्याप्त भिन्नता नगरेको भन्दै राष्ट्रसङ्घले चासो देखाएको हो।
दुई वर्षदेखि जारी युद्ध रोक्ने प्रयासस्वरूप गत अक्टोबरमा युद्धविराम भएको थियो। तर, त्यसपछि पनि गाजामा छिटपुट हिंसा र सैन्य कारबाही रोेकिएको छैन। इजरायलले युद्धविरामपछि पनि हमासका लडाकूबाट आफ्ना सैनिकमाथि आक्रमण भइरहेकाले जवाफी कारबाही जारी राखिएको जनाएको छ। युद्धविरामपछि हालसम्म पाँच इजरायली सैनिक मारिएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता मात्रै गाजामा कम्तीमा एक हजार १२३ जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश महिला र बालबालिका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा दक्षिणी इजरायलमा करिब १,२०० जनाको मृत्यु भएपछि यो युद्ध सुरु भएको थियो। त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा कुल ७३ हजार २६४ भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ।