औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड 'रियल स्टेट ब्रोकर' जस्तो भएको संसदीय समितिको निष्कर्ष
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
294
Shares
काठमाडौँ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। बिहीबार बसेको समितिको बैठकमा बोल्दै सभापति अन्सारीले सरकारी निकायका रूपमा रहेको लिमिटेडले औद्योगिक विकासमा लाग्नुको सट्टा घरजग्गा एजेन्ट (रियल स्टेट ब्रोकर) को भूमिकामा बढी केन्द्रित देखिएको टिप्पणी गरे।
विभिन्न औद्योगिक क्षेत्रको भ्रमण र अवलोकनपछि आयोजित बैठकमा उनले लिमिटेडले देखाएका कोकाकोला, गोल्डस्टार र नेबिको जस्ता स्थापित र सिमित सफल उद्योगहरूको मात्र अवलोकन गराए पनि समग्र औद्योगिक क्षेत्रको अवस्था सन्तोषजनक नरहेको बताए। औद्योगिक क्षेत्रभित्र उद्योगका सट्टा शोरुम र वर्कशपहरु सञ्चालन भइरहेकोमा समितिले गम्भीर चासो व्यक्त गरेको छ। औद्योगिक प्रयोजनका लागि छुट्याइएको ठाउँमा गैर–औद्योगिक गतिविधि हुनु र त्यस्ता व्यवसायलाई हटाउन पाँच वर्ष जस्तो लामो समय दिइनु गलत भएको समितिको ठहर छ।
सभापति अन्सारीले उद्योगीहरूले जग्गा लिजमा लिनका लागि वर्षौँ कुर्नुपर्ने झन्झटिलो प्रशासनिक प्रक्रिया (ब्युरोक्रेटिक हर्डल्स) रहेको र व्यवस्थापन पक्षप्रति उद्योगीहरू पूर्ण रूपमा सन्तुष्ट नरहेको पाइएकाले तत्काल नीतिगत हस्तक्षेप गरी औद्योगिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। औद्योगिक क्षेत्रको समस्या समाधानका लागि अब केवल छलफलमा मात्र सिमित नभई ठोस समाधान निकाल्न चाँडै एउटा शक्तिशाली उपसमिति गठन गरिने र उक्त उपसमितिले निर्धारित समयभित्र व्यवस्थापन र नीतिगत सुधारका लागि प्रतिवेदन पेश गर्ने निर्णय बैठकले गरेको छ।
यसैगरी, काठमाडौंभित्रका औद्योगिक क्षेत्रहरूमा प्रदूषण नगर्ने (नन–पोल्युटिङ) उद्योग र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव बैठकमा आएको छ। काठमाडौंमा दक्ष जनशक्तिको उपलब्धता सहज हुने भएकाले आईटी पार्कको अवधारणामा काम गर्न सकिने विषयमा समितिले छलफल शुरु गरेको छ।
सभापति अन्सारीले आगामी दिनमा गरिने अनुगमनहरू थप व्यवस्थित र प्रभावकारी बनाउन जानकारी दिएर मात्र नभई साना टोलीहरू बनाएर 'छड्के' रूपमा अनुगमन गरिने जानकारी दिए। यसै क्रममा समितिले आगामी हप्ता पाटन औद्योगिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम तय गरेको छ।