जनहितविपरीत काम गरे विकल्प खोज्ने सञ्चारमन्त्रीको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
201
Shares
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेका चार सदस्य पदमा नयाँ नियुक्ति गरिएको छ। सूचना तथा सञ्चारमन्त्रीस्तरको बिहीबारको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त भएका हुन्।
नवनियुक्त सदस्यहरूको पदभार ग्रहणअघि आयोजित कार्यक्रममा निर्देशन दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्राधिकरण देशको दूरसञ्चार क्षेत्रको विकास, विस्तार र नियमनसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण निकाय भएकाले नयाँ नेतृत्वले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए। नयाँ नेतृत्वको निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भावी दिशा निर्धारण गर्ने उल्लेख गर्दै उनले उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले संस्थाको हित र जनहितभन्दा बाहिर गएर गरिने कुनै पनि काम सरकारका लागि स्वीकार्य नहुने स्पष्ट पारे। कार्यसम्पादन सन्तोषजनक नभए सरकारले आवश्यक विकल्प खोज्ने चेतावनी दिँदै उनले भने, “देश र जनताको हितमा काम भएन भने त्यस्तो स्थिति सरकारका लागि स्वीकार्य हुँदैन। जुन दिन तपाईंहरूबाट काम हुन सक्दैन भन्ने लाग्छ, सरकारले तपाईंहरूको पनि विकल्प खोज्छ।”
दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको प्रभावकारी नियमन प्राधिकरणको मुख्य जिम्मेवारी भएको भन्दै उनले देशभर गुणस्तरीय, भरपर्दो र पहुँचयोग्य दूरसञ्चार सेवा सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न आग्रह गरे। नियामक निकायका रूपमा प्राधिकरण निकै बलियो हुनुपर्नेमा आजसम्म यसलाई कमजोर र जीर्ण बनाइएको उनको भनाइ थियो। तीव्र गतिमा भइरहेको डिजिटल रूपान्तरण र उपभोक्ता हित संरक्षणका चुनौतीहरूलाई सामना गर्न सक्षम र निष्पक्ष नियामक संस्थाको आवश्यकता रहेको उनले औंल्याए।
नवनियुक्त सदस्यहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हित, सुशासन र सामूहिक निर्णय प्रणालीलाई अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले कानुनसम्मत, पारदर्शी र इमानदार ढङ्गले काम गर्दै देशको दूरसञ्चार क्षेत्रको विकास र नियमनलाई प्रभावकारी बनाउन सक्रिय रहने बताए।