रासायनिक मलदेखि राष्ट्र बैंक ऐन संशोधनसम्मका विषयमा छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
274
Shares
काठमाडौँ । व्यवस्थापिका संसद्अन्तर्गत आज विभिन्न चार ओटा संसदीय समितिका बैठकहरू बस्दैछन्। आज बस्ने बैठकहरूमा मुलुकको कृषि, अर्थतन्त्र, सांस्कृतिक सम्पदा र सामाजिक समावेशीकरणका महत्त्वपूर्ण विधेयक तथा एजेन्डाहरूमाथि विस्तृत छलफल हुने कार्यसूची रहेको छ।
बिहान साढे ९ बजे बस्ने यस समितिको बैठकमा विशेष गरी दुई वटा महत्त्वपूर्ण विषयमा केन्द्रित रहेर छलफल हुनेछ। पहिलो सत्रमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचयसहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित कामकारबाही, आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल हुनेछ। दोस्रो सत्रमा आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा गरिनेछ। साथै आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति तालिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन तथा दीर्घकालीन रणनीतिका बारेमा समेत छलफल हुने कार्यसूची छ।
बैंकिङ र वित्तीय क्षेत्रको नियमनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ दिउँसो १ बजे अर्थ समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल सुरु हुनेछ।
बिहान ११ बजे बस्ने यस समितिको बैठकमा सांस्कृतिक क्षेत्रको संरक्षणसँग सम्बन्धित महत्त्वपूर्ण कानुनका विषयमा छलफल हुनेछ। बैठकमा 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१' उपर विषय विज्ञहरूसँग सरोकारवालाहरूले परामर्श र छलफल गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय समावेशी आयोगको कामकारबाही, हालसम्मको प्रगति र आगामी चुनौतीहरूका सम्बन्धमा समीक्षात्मक छलफल हुने कार्यसूची तय गरिएको छ।