मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको अभाव: केचना–कञ्चनजंघा सडक निर्माणमा ढिलाइले नागरिकलाई सास्ती
ठेकेदारको ढिलाइले सडक बन्द हुँदा इलामवासीलाई सास्ती
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
232
Shares
काठमाडौँ । मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहँदा वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) निर्माणमा भएको ढिलाइले पूर्वी पहाडका तीन जिल्ला—इलाम, पाँचथर र ताप्लेजुङका नागरिकलाई थप सास्ती दिएको छ। राजमार्ग अवरुद्ध हुँदा सहज यात्रा हुने अपेक्षा गरिएको यो सडक वर्षौंदेखि अलपत्रजस्तै बन्दा जनजीवन प्रभावित बनेको हो।
मेची राजमार्ग हुँदै झापाको बिर्तामोड पुग्न करिब ८६ किलोमिटर दूरी पार गर्नुपर्छ। तर, केचना–कञ्चनजंघा सडक निर्माण सम्पन्न भएको खण्डमा यही दूरी घटेर करिब ४८ किलोमिटरमा सीमित हुने छ। छोटो दूरी, समय बचत र सहज आवतजावतका लागि महत्त्वपूर्ण मानिएको यो आयोजना निर्माण ढिलाइका कारण अहिले प्रभावकारी हुन सकेको छैन।
खड्का–कृष्ण–सक्षम जेभीले २०७८ असार २९ गते २ वर्षभित्र काम सक्नेगरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो। साढे नौ किलोमिटर लम्बाइको गोलाखर्क भञ्ज्याङ–बेलासे खण्डको म्याद २०८० पुस २९ सम्म तोकिएको थियो। तर, निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थपिँदै २०८३ असोजसम्म पुर्याइएको छ। पाँच वर्ष बित्न लाग्दा समेत परियोजनाको भौतिक प्रगति जम्मा ४६ प्रतिशतमा सीमित रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार ठेक्कामा सडक चौडा बनाउने, नाली निर्माण, टेवा पर्खाल, ह्युम पाइप, कल्भर्ट, सब–बेस र कालोपत्रे गर्ने सम्पूर्ण काम समेटिएको भए पनि अहिलेसम्म एक फिट पनि कालोपत्रे भएको छैन। ३–४ किलोमिटर क्षेत्रमा सब–बेससम्मको काम भएको भए पनि ढिलाइका कारण त्यो पनि वर्षातमा बगेर क्षतविक्षत बन्दै गएको उनले बताए।
इलाम र झापा जोड्ने करिब ४८ किलोमिटर सडकअन्तर्गत सबैभन्दा जटिल मानिएको गोलाखर्क भञ्ज्याङदेखि बेलासेसम्मको साढे ९ किलोमिटर खण्डमा भएको ढिलाइले समग्र आयोजना नै प्रभावित बनेको छ। अहिले यही खण्डमा हिलो र खराब अवस्थाका कारण यातायात सञ्चालनसमेत प्रभावित भइरहेको छ।
केही दिन अघिदेखि अवरुद्ध रहेको मेची राजमार्गको राजदुवाली क्षेत्रमा ठूलो पहिरो खस्दा सवारी आवागमन ठप्प छ। त्यस्तो अवस्थामा केचना–कञ्चनजंघा सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने योजना भए पनि निर्माण कार्य समयमै सम्पन्न नभएकाले यात्रुहरूले झन् बढी दुःख भोग्नुपरेको छ। अहिले पनि वर्षा सुरु भएसँगै राजमार्गमा समस्या दोहोरिँदा विकल्प अभावकै पीडा दोहोरिएको छ।
यसअघि इलाम भ्रमणमा आएका संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनील लम्सालले बेलासे–राकसे–गोलाखर्क भञ्ज्याङ खण्डको काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोड्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका थिए। तर पछि निर्माण कम्पनीलाई अन्तिम मौका दिने भन्दै ठेक्का तोड्ने प्रक्रिया रोकिएको थियो। तर, त्यसपछि पनि कामले गति लिन नसकेको स्थानीय मन कुमार फागोको गुनासो छ।
स्थानीय व्यवसायी ईश्वर चिपालुका अनुसार सडक बनेको भए अहिले मेची राजमार्ग बन्द हुँदा कुनै समस्या हुने थिएन, तर काम ढिला हुँदा झन् दुःख पाउनुपरेको छ। व्यापारी, विद्यार्थीदेखि बिरामी बोक्ने एम्बुलेन्ससम्म सबैले वैकल्पिक मार्ग अभावमा सास्ती खेपिरहेका छन्। पहाडी जिल्लामा एउटै मुख्य सडकमा निर्भर रहनु जोखिमपूर्ण हुने भएकाले केचना–कञ्चनजंघा सडकजस्ता वैकल्पिक मार्ग समयमै सम्पन्न हुनु अत्यावश्यक हुन्छ। तर, कमजोर अनुगमन, निर्माण कम्पनीको लापरवाही र प्रशासनिक ढिलासुस्तीका कारण आयोजना अपेक्षित गतिमा अघि बढ्न नसकेको देखिन्छ।
अहिलेको अवस्था हेर्दा मेची करिडोर केवल कागजमै सीमित भएको अनुभूति स्थानीयले गरिरहेका छन्। वर्षौंदेखि आशा गरिँदै आएको यो सडक समयमै सम्पन्न हुन नसक्दा इलामबासीले हरेक वर्ष दोहोरिने सडक संकट झेल्न बाध्य छन्। मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको अभावले उत्पन्न समस्या र केचना–कञ्चनजंघा सडक निर्माणमा भएको ढिलाइ एउटै सिक्काका दुई पाटा बनेका छन्। अब पनि सम्बन्धित निकाय गम्भीर नबन्ने हो भने इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले यस्तै सास्ती अझै लामो समयसम्म भोग्नुपर्ने निश्चित देखिन्छ।