arrow

मनसुनको असर

एक्काइस जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना, अवस्था हेरेर सवारी चलाउन दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
weather-nagdhunga-checkpost-.jpg

काठमाडौँ । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने  भएको छ ।

देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताए । 

“जोखिमको अवस्थालाई मध्यनजर गर्दै पहिरो जाने सम्भावना भएका जिल्लामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका थियौँ”, निमित्त कार्यकारी प्रमुख कोइरालाले भने, “आज पनि मौसम र सडकको वास्तविक अवस्था मूल्याङ्कन गरेरमात्रै सवारी सञ्चालन खुला गरिनेछ ।”

निमित्त कार्यकारी प्रमुख कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ । जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ । 

प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सडकसम्बन्धी आधिकारिक सूचना पछ्याएरमात्रै यात्रा गर्न, जोखिमयुक्त सडकखण्डमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । 

यता देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश  स्थानमा  वर्षाको सम्भावना रहेको बताएको छ ।  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।

हाल देशभर बदली भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ । हिमाली,पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति पनि देशभर अधिकांश बदली हुनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति नै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ