विश्वकप फुटबलको फाइनलमा स्पेन र अर्जेन्टिना मैदानमा, मध्यान्तरसम्म गोलरहित बराबरी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
477
Shares
काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल जारी रहेको छ । स्पेन र अर्जेन्टिनाबीचको फाइनल भिडन्त जारी रहेको हो ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भइरहेको खेलको मध्यान्तरसम्म दुवैतर्फ गोल भएको छैन ।
साविक विजेतासमेत रहेको अर्जेन्टिनाले फाइनल खेलका लागि आज तीन खेलाडी परिवर्तन गरेको छ । जसमा गोन्जालो मोन्टिएल, रोड्रिगो डे पउल र निकोलस गोन्जालेज पहिलो रोजाइमा परेका छन् ।
सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध पहिलो रोजाइमा खेलेका नाहुएल मोलिना, जिलियानो सिमिओनी र लिउन्ड्रो पेरेडेस भने आज बेन्चमा छन् । यता, स्पेनले भने फ्रान्ससँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।
सेमिफाइनल खेलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलयात्रा तय गरेको थियो । यस्तै, स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
स्पेन र अर्जेन्टिना विश्वकपमा ६० वर्षपछि आमनेसामने भएका हुन् । यसअघि सन् १९६६ मा दुई टोलीले विश्वकपमा खेलेका थिए ।सो खेलमा अर्जेन्टिना २ र स्पेनले १ गोल गरेका थिए ।
यस फाइनलको सबैभन्दा ठूलो आकर्षण अर्जेन्टिनाका महानायक लियोनेल मेस्सी र स्पेनका १९ वर्षीय युवा स्टार लामिन यमालबीचको भिडन्त हो। सन् २००७ मा बार्सिलोनाको एक च्यारिटी फोटोसुटका क्रममा २० वर्षीय मेस्सीले मात्र ३ महिनाका यमाललाई काखमा लिएर नुहाइदिएका थिए। सन् २०२४ मा भाइरल भएको त्यो ऐतिहासिक तस्बिर सोमबार वास्तविकतामा परिणत हुँदैछ । जहाँ तिनै यमाल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना 'गुरु' समान मेस्सीको विरुद्धमा विश्वकपको उपाधिका लागि मैदान उत्रिएका छन्।
स्पेन सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने दाउमा छ भने अर्जेन्टिना चौथो पटक उपाधि जित्दै लगातार दुई पटक विश्वकप आफ्नो नाम गर्ने इतिहास रच्न चाहन्छ। यदि अर्जेन्टिना विजयी भएमा इटाली र ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने विश्वकै तेस्रो टोली बन्नेछ। मेस्सी यस विश्वकपमा ८ गोल र ४ असिस्टसहित गोल्डेन बुटको दौडमा छन् ।
अर्कोतर्फ स्पेनका मिकेल ओयारजाबाल ५ गोलसहित टोलीका शीर्ष स्कोरर हुन् भने ३० वटा सफल ड्रिबल गरेका यमाल प्रतियोगिताकै सबैभन्दा खतरनाक विङ्गर सावित भएका छन्।
यो फाइनल खेल मुख्यतया स्पेनको मजबुत रक्षापङ्क्ति र अर्जेन्टिनाको घातक आक्रमणबीचको लडाइँ हो । लुइस डे ला फुएन्तेको स्पेनले पूरे प्रतियोगितामा मात्र १ गोल खाएको छ । जहाँ गोलकिपर उनाई सिमोनले एकै सिजनमा ६ वटा 'क्लिन सिट' को रेकर्ड बनाएका छन् भने कप्तान रोड्रीले ६४८ सफल पासको कीर्तिमान राखेका छन्।
अर्कोतर्फ साविक विजेता अर्जेन्टिना लगातार सात खेल जित्दै र प्रतियोगितामा सबैभन्दा बढी १९ गोल गर्दै फाइनल पुगेको हो। इजिप्ट र इङ्गल्याण्डविरुद्ध सुरुमा पछि परेर पनि खेल उल्टाएको अर्जेन्टिनाले आफ्नो च्याम्पियन मानसिकता देखाइसकेको छ।