पहाडदेखि तराईसम्म वर्षा र हिमपात, यी प्रदेशमा भारी वर्षाको सतर्कता
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
424
Shares
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव हुनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले देशभरको मौसम प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।