काठमाडौँ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। आज सोमबार बिहान २:२० बजे खसेको पहिरोका कारण सवारी आवागमन ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार पहिरो पन्छाएर आज बिहान ९:०० बजेसम्ममा सडक पुनः सञ्चालन गर्ने गरी तीव्र रूपमा काम भइरहेको छ।
अत्यधिक वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिम रहेकाले स्थानीय प्रशासनले आइतबार राति १०:०० बजेदेखि नै चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाएको थियो। राति बन्द गरिएको उक्त सडकखण्ड पहिरो पूर्ण रूपमा पन्छाएपछि मात्रै सुचारु हुने प्रहरीले जनाएको छ।
यद्यपि, नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै पोखरातर्फ जाने गाडीहरू भने सञ्चालनमा आइसकेका छन्। पहिरोका कारण राजमार्गमा सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।