कांग्रेस कमजोर हुँदा राष्ट्रियता र व्यवस्था नै जोखिममा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
381
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको भन्दै नेतृत्वले समयमै आत्मसमीक्षा नगरे कांग्रेससँगै लोकतान्त्रिक व्यवस्था र राष्ट्रियता नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।
बरालले विगत ८-१० महिनादेखि कांग्रेसलाई संकटबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताए। उनका अनुसार कांग्रेस कमजोर वा विभाजित भए त्यसको असर पार्टीभित्र मात्र सीमित नहुने, राष्ट्रियता र लोकतान्त्रिक व्यवस्थामाथि समेत गम्भीर चुनौती खडा हुन सक्छ।
‘नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउने सही कदम चाल्ने अपेक्षामा हामी छौं,’ उनले भने।
बरालले वर्तमान नेतृत्व, विशेषगरी सभापति गगन थापा र उनको समूहप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई गोलचक्करमा फसाएको आरोप लगाए। आत्मबोधको अभावका कारण मुलुक नै गन्तव्यहीन बनेको उनको टिप्पणी थियो।
‘कांग्रेस देशको मेरुदण्ड हो। मेरुदण्ड कमजोर हुँदा व्यवस्था र राष्ट्रियता दुवै कमजोर हुन्छन्,’ उनले भने। क्रियाशील सदस्यता विवादबारे पनि उनले नेतृत्वको कडा आलोचना गरे।
सभापति थापाले जनकपुरमा दिएको सम्पूर्ण क्रियाशील सदस्यता खारेज गर्ने अभिव्यक्तिलाई उनले ‘हुकुमी शैली’को संज्ञा दिए। पार्टी विधानअनुसार निश्चित अवधिको निरन्तर क्रियाशील सदस्यता नेतृत्वका लागि अनिवार्य रहेकाले कुनै व्यक्तिको घोषणाले सदस्यता खारेज हुन नसक्ने उनको भनाइ छ।
अद्यावधिकका नाममा देशभर अन्योल र आतंक सिर्जना गरिएको आरोप पनि उनले लगाए। बरालले कांग्रेस विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको मार्गबाट विचलित भएको दाबी गरे।
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धि, सरकारका जनविरोधी गतिविधि तथा राष्ट्रियताका सवालमा कांग्रेस प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको उनको भनाइ छ।
‘सानेपाको नेतृत्व सरकारको साझेदार हो कि दर्शक भन्ने छुट्याउन गाह्रो भएको छ। संसद्मा कांग्रेसको आवाज पनि सत्ताको छायाँजस्तो देखिएको छ,’ उनले भने।
१५औँ महाधिवेशनको तयारीस्वरूप चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयलाई नयाँ पार्टी गठनको संकेतका रूपमा नबुझ्न उनले आग्रह गरे।समान विचार भएका नेता-कार्यकर्ताबीच समन्वय र महाधिवेशनको तयारीका लागि मात्रै कार्यालय सञ्चालन गरिएको उनको भनाइ थियो।
सार्थक संवादको अभावले पार्टी एकता संकटमा परेको उल्लेख गर्दै नेतृत्वले बीपीको विचारमा फर्कने प्रतिबद्धता जनाए समस्या समाधान हुन सक्ने विश्वास उनले व्यक्त गरे।
पार्टी नेतृत्वका सम्भावित विकल्पबारे बोल्दै बरालले कांग्रेसमा अनुभवी र निष्कलंक नेताको अभाव नरहेको बताए। उनले डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला जस्ता नेताहरूलाई डिजिटल लोकप्रियताको नाममा बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए।
‘केवल डिजिटल लोकप्रियताले देश चल्दैन,’ उनले भने। बरालले पार्टी नेतृत्वको अदूरदर्शिता, घमण्ड र संवादहीनताका कारण विदेशी शक्तिलाई चलखेल गर्ने अवसर मिलेको दाबी पनि गरे।
विशेष महाधिवेशनपछि कानुनी प्रक्रियाप्रति सम्मान जनाउँदै आफूहरूले गगन थापालाई सभापति स्वीकार गरे पनि सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वकै भएको उनले बताए।
शेरबहादुर देउवा र सुशील कोइरालाको नेतृत्वमा सर्वसम्मतिबाट निर्णय हुने परम्परा अहिले हराएको उनको टिप्पणी थियो। उनले पार्टी एकताका लागि आफूहरू पद त्याग गर्नसमेत तयार रहेको बताउँदै नेतृत्वले संवादबाट भाग्न नहुने धारणा राखे।
‘पार्टी मिल्छ भने हामी पद छाड्न तयार छौं, तर नेतृत्वले संवादको सट्टा बहाना खोजिरहेको छ,’ उनले भने। कांग्रेसभित्र रहेको ठूलो असन्तुष्ट पक्षलाई बेवास्ता गरेर पार्टी अगाडि बढ्न नसक्ने उनको चेतावनी थियो।
वैचारिक रूपमा कांग्रेस प्रजातान्त्रिक समाजवादबाट टाढिँदै सामाजिक लोकतन्त्रतर्फ गएको भन्दै बरालले त्यसले पार्टीलाई झन् कमजोर बनाएको दाबी गरे।
संसद्मा कांग्रेसको भूमिका निरीह देखिएको र नेतृत्व सत्ता साझेदारको सहयात्रीजस्तो मात्र बनेको उनको आरोप छ।
हाल उपचारका क्रममा विदेशमा रहेका शेरबहादुर देउवा करिब एक साताभित्र स्वदेश फर्किने जानकारी दिँदै बरालले उनीसँग निरन्तर सम्पर्कमा रहेको बताए।
उनले समयमै नेतृत्वले आत्मसमीक्षा गरी सार्थक संवाद शुरू नगरे कांग्रेस र देश दुवै ठूलो राजनीतिक दुर्घटनातर्फ धकेलिन सक्ने चेतावनी दिए।