बितेका दश वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
267
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा बितेको टिप्पणी गरेका छन्।
उनले यो अवधिमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी हुँदा देश र पार्टी दुवैले क्षति बेहोरेको बताए।
मंगलबार काठमाडौँमा महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले सत्ताको स्वार्थका लागि राष्ट्रिय मुद्दा र नागरिकका अपेक्षालाई बेवास्ता गरिएको आरोप लगाए।
उनले आफू सिद्धान्तको राजनीतिमा विश्वास गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै सिद्धान्तका लागि जुनसुकै संघर्ष गर्न तयार रहेको बताए। पछिल्लो १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको उनको भनाइ थियो।
थापाले पार्टीलाई पुनः जनविश्वास जित्ने र लोकप्रिय बनाउने हो भने कांग्रेस आफ्नै सिद्धान्त र नागरिकका अपेक्षाअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।
साथै, मुलुकलाई केवल आर्थिक रूपमा समृद्ध मात्र होइन, सामाजिक, नैतिक र संस्थागत रूपमा पनि समुन्नत बनाउने दिशामा कांग्रेसले नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरे।