काठमाडौँ । ‘बर्डफ्लु’ को प्रभावका कारण घटेको अण्डाको मूल्यमा पुनः वृद्धि हुन थालेको छ। उत्पादनमा आएको कमी र बजारमा माग बढेसँगै अण्डाको मूल्य बढ्न थालेको हो।
नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्यका आधारमा बजार मूल्य तय गर्दै आएको छ। सङ्घका अनुसार नयाँ मूल्यसूचीअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट बढेर रु ५०० पुगेको छ। त्यसैगरी, मध्यम अण्डा रु ४२० बाट बढेर रु ४७० तथा सानो अण्डाको मूल्य पनि प्रतिक्रेट रु ५० ले नै वृद्धि भई रु ४१५ पुगेको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक ४५ लाख गोटा हाराहारीमा हुँदै आएको अण्डाको उत्पादन बर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको बताए। यसअघि जेठको अन्तिममा एक क्रेट अण्डाको मूल्य रु ५५० सम्म पुगेकोमा पछि घटेर रु ४५० मा झरेको थियो। हाल एक क्रेट अण्डाको वास्तविक लागत मूल्य नै ५७३ रुपैयाँ ६० पैसा (प्रतिगोटा १९ रुपैयाँ १२ पैसा) पर्न आउँछ। अहिले बजारमा खपत बढेसँगै मूल्य केही बढेको उनले बताए।
अहिले मूल्य केही बढे पनि किसानले अझै पनि लागत मूल्य पाउन नसकेको अध्यक्ष पोखरेलले गुनासो गरे। किसानहरूले अब छिट्टै लागत मूल्य पाउने आशा राखेको उल्लेख गर्दै उनले बर्डफ्लुका कारण ठूलो नोक्सानी व्यहोरेका प्रभावित किसानहरूलाई राज्यले उचित राहत दिनुपर्ने माग गरे।