सडकको अनधिकृत संरचना हटाउन बिर्तामोड नगरको १५ दिने अल्टीमेटम
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
137
Shares
काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर निर्माण गरिएका अवैध भौतिक संरचनाहरू स्वेच्छाले हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ।
नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमानामा पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र बनेका अनधिकृत संरचनाहरू १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो। सडक विभागको समन्वयमा नापजाँच र रेखाङ्कनको काम सम्पन्न भइसकेको उक्त सडकको केन्द्र भागबाट दुवैतर्फ १५–१५ मिटर (कुल ३० मिटर) क्षेत्राधिकार तोकिएको छ।
यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो। तर, तोकिएको समयसीमा सकिँदासमेत केही घरधनी तथा व्यवसायीहरूले अटेर गरी संरचना नहटाएपछि पुनः दोस्रोपटक सूचना जारी गर्नुपरेको नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा जारी सूचनामा उल्लेख छ।
नगरपालिकाले तोकिएको १५ दिनको थप अवधिभित्र पनि संरचना नहटाएमा कानुनबमोजिम नगरपालिका आफैँले डोजर लगाएर भत्काउने चेतावनी दिएको छ। यसरी बल प्रयोग गरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च रकमसमेत सम्बन्धित घर वा जग्गाधनी व्यक्तिबाटै असुलउपर गरिने नगरपालिकाले स्पष्ट पारेको छ।