सरकार र प्रतिपक्ष दुवै ब्रेक बिनाको दौडमा : गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
182
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
बुधवार बीपी कोइरालाको स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित ‘जलवायु जनचेतना दौड’ कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड बिना कुनै विश्राम पूरा गरेपछि सभापति थापाले प्रधानमन्त्री वालेन्द्र साहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोडेका हुन्।
यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता साहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिएका थिए। सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ बिनाको दौडसँग तुलना गरेका छन्।
दौड पूरा गरेपछि आफूलाई साथीहरूले ठट्टा गर्दै ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ’ भनेको सुनाउँदै सभापति थापाले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएको बताए।
सभापति थापाले भने, ‘म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिएँ । मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो–गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ ।’