बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले जारी गर्यो ४७ बुँदे मार्गदर्शन
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
891
Shares
काठमाडौँ । चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायहरूलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ।
गत सोमबार जारी गरिएको यस मार्गदर्शनमार्फत बजेट तथा कार्यक्रमलाई निर्धारित समयसीमाभित्रै कार्यान्वयन गरी पुँजीगत खर्चको क्षमता अभिवृद्धि गर्न, उपलब्ध स्रोत र साधनको मितव्ययी ढङ्गले उपयोग गर्न तथा विकास आयोजनाहरूको प्रगति नियमित रूपमा अनुगमन गर्न कडा निर्देशन दिइएको छ।
मार्गदर्शनअनुसार सबै मन्त्रालय तथा निकायले स्वीकृत कार्यक्रम र बजेट लाइनमिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम (एलएमबिआईएस) मा समयमै अद्यावधिक गर्नुपर्ने, सुरुवातमै खरिद योजना तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजानुपर्ने तथा आयोजना कार्यान्वयनमा देखिने समस्या समयमै समाधान गर्नुपर्ने छ।
बजेट विनियोजनको निर्धारित उद्देश्यअनुसार मात्र खर्च गर्ने, फजुल तथा अनावश्यक खर्च नियन्त्रण गर्ने र सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण रूपमा प्रतिस्पर्धात्मक, पारदर्शी एवं समयबद्ध बनाउने उल्लेख गरिएको छ।
यसैगरी, विकास आयोजनाहरूको भुक्तानी कार्यसम्पादनको भौतिक प्रगतिको आधारमा मात्र गर्न निर्देश गरिएको छ। मार्गदर्शनमा राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने, आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्ने, सार्वजनिक सम्पत्तिको उचित संरक्षण र उपयोग गर्ने तथा कडा आर्थिक अनुशासन कायम गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
अर्थ मन्त्रालयले आयोजना तथा कार्यक्रमको नियमित अनुगमन, प्रगति समीक्षा र प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउन पनि जोड दिएको छ। मन्त्रालयका अनुसार बजेट कार्यान्वयनमा देखिने ढिलासुस्ती, कमजोर खर्च क्षमता तथा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन नसक्ने प्रवृत्तिलाई सुधार गर्ने मुख्य उद्देश्यसहित यो मार्गदर्शन जारी गरिएको हो।