इबोला अझै नियन्त्रण बाहिर, कंगोमा झन्डै एक हजारको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
202
Shares
काठमाडौँ। लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ ।
डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको बताए ।
उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् । हालको प्राथमिकता संक्रमण प्रभावित क्षेत्रलाई सीमित राख्दै थप फैलिन नदिनु रहेको उनले बताए ।
डीआर कंगो सरकारका अनुसार आइतबारसम्म इबोलाका दुई हजार चार सय २३ पुष्टि भएका संक्रमित भेटिएका छन् ।
तीमध्ये नौ सय ६७ जनाको मृत्यु भएको छ भने चार सय ६९ जना निको भएका छन् । हाल सात सय ३४ जना बिरामी उपचार वा निगरानीमा रहेका छन् ।
संक्रमणले अग्रपंक्तिमा खटिएका एक सय २१ जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित बनाएको छ । तीमध्ये ३६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा समेत संक्रमण पुष्टि भएसँगै पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा इबोला फैलिएको छ । तीमध्ये ४६ क्षेत्रमा अझै सक्रिय संक्रमण रहेको बताइएको छ ।
गत मे १५ मा घोषणा गरिएको यो प्रकोपको केन्द्र इटुरी प्रान्त नै हो, जहाँ कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी र मृत्युको करिब ८० प्रतिशत घटना दर्ज भएका छन् ।
जनसंख्याको आवतजावत, सुरक्षा चुनौती, अनौपचारिक खानी गतिविधि तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रणमा थप चुनौती थपेको डब्ल्यूएचओले जनाएको छ ।
संक्रमण सीमापार फैलिन नदिन डीआर कंगो र युगान्डाले सीमा क्षेत्र कासेनीमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकनसमेत गरेका छन् ।