काठमाडौँ महानगरको नयाँ भवन निर्माण पैतिस प्रतिशत पूरा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
268
Shares
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्यले तीव्र गति लिएको छ।
टेकुस्थित निर्माणाधीन भवनको काम शुरू भएको ९४ दिनमै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको छ।
भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टका अनुसार गत चैत २२ गतेदेखि शुरू भएको निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको छ।
हाल बेसमेन्ट निर्माण सम्पन्न भइसकेको छ भने बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको छ।
उनका अनुसार निर्माण सम्पन्न गरी २०८४ साल कार्तिक २२ गतेभित्र महानगरलाई भवन हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि तोकिएको समयभन्दा अघि नै काम सक्ने गरी निर्माणलाई तीव्र बनाइएको छ।
निर्माणस्थलमा हाल ७० जना दक्ष तथा अदक्ष कामदार खटिएका छन्।
साथै, प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजरलगायत १० जना प्राविधिक जनशक्ति परिचालन गरिएको छ। सबै सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै निर्माण भइरहेको भट्टले बताए।
करिब छ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको आठतले प्रशासनिक भवनको बुधबार काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन गरेकी छन्।
उनले निर्माण कम्पनीलाई गुणस्तर कायम राख्दै तोकिएकै समयमा भवन निर्माण सम्पन्न गर्न निर्देशन दिएकी छन्।