अफगानिस्तानमा भीषण बाढी: बीसको मृत्यु, सय बढी बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
144
Shares
काठमाडौँ। पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा सोमबार परेको अविरल वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।
बाढीका कारण ८० जना घाइते भएका छन् भने सय भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले बताएका छन्।
अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मादका अनुसार बाढीले नुरिस्तानमा ठूलो मानवीय क्षति पुर्याएको छ।
प्रभावित क्षेत्रमा प्रान्तीय विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ भने खोजी तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ।
उद्धार टोलीले मृतकको शव निकाल्ने, घाइतेलाई उपचारका लागि सुरक्षित स्थानमा पुर्याउने तथा बेपत्ताहरूको खोजीलाई प्राथमिकता दिएको छ।
क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको र विस्तृत मूल्याङ्कनपछि हताहती तथा भौतिक क्षतिको अन्तिम विवरण सार्वजनिक गरिने हम्मादले जानकारी दिए।
यसैबीच, अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार नुरिस्तानको प्रान्तीय राजधानी पारुन सबैभन्दा बढी प्रभावित भएको छ। बाढीले त्यहाँका दर्जनौं घर, सार्वजनिक संरचना तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ।
स्थानीय प्रशासनले बेपत्ता व्यक्तिको खोजी र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कामलाई तीव्र बनाएको जनाएको छ।