तापक्रम ४० डिग्री नाघेएपछि जापानमा ‘क्रूर गर्मी’ को चेतावनी जारी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
177
Shares
काठमाडौँ । जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि मौसमविद्हरूले पहिलोपटक ‘क्रूर रूपमा तातो दिन’ भन्ने नयाँ शब्दावली प्रयोग गर्न थालेका छन्। देशका अधिकांश क्षेत्रमा भीषण गर्मी फैलिँदै गएपछि ४७ मध्ये ४१ प्रान्तमा ‘हिटस्ट्रोक’ को चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार मङ्गलबार देशका तीन केन्द्रीय सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो भने यस स्तरको गर्मीलाई जनाउन एजेन्सीले ‘कोकुशोबी’ अर्थात् ‘क्रूर रूपमा तातो दिन’ भन्ने शब्द प्रयोग गरेको जनाएको छ।
बुधबार पनि नागोया तथा टोकियो आसपासका पूर्वी क्षेत्रसहित अन्य स्थानमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा वा त्यसभन्दा माथि पुगेको थियो। लगातार बढ्दो गर्मीका कारण सर्वसाधारण, विशेषगरी ज्येष्ठ नागरिकलाई अत्यधिक सतर्कता अपनाउन र शरीरलाई चिसो राख्न एजेन्सीले आग्रह गरेको छ। टोकियोको उत्तरस्थित तोचिगी प्रान्तमा ८५ वर्षीय एक वृद्ध आफ्नै कृषि फार्मको हरितगृहभित्र अचेत अवस्थामा भेटिएको र पछि उनको मृत्यु भएको पुष्टि भएको छ।
जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले अत्यधिक गर्मीलाई प्राकृतिक विपद्कै रूपमा लिन सर्वसाधारणलाई आग्रह गरेको छ। जुलाईको मध्यदेखि तापक्रम लगातार बढिरहेको र देशभर गम्भीर गर्मी अझ केही समय कायम रहने सम्भावना रहेको एजेन्सीले जनाएको छ। चरम गर्मीका कारण धेरै मानिस अस्पताल भर्ना भएका छन् भने केहीको मृत्युसमेत भएकाले वर्तमान अवस्थालाई ‘विपद्’ भन्न अतिशयोक्ति नहुने उल्लेख गरिएको छ।
वैज्ञानिकहरूले मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनका कारण जापानसहित विश्वका विभिन्न भागमा अत्यधिक गर्मीका घटना थप बारम्बार र तीव्र बन्दै गएको बताएका छन्। गत वर्ष जापानले आफ्नो इतिहासकै सबैभन्दा तातो गर्मीयाम अनुभव गरेको थियो भने देशमा हालसम्मको सबैभन्दा उच्च तापक्रम सन् २०२५ अगस्ट ५ मा टोकियोको उत्तरस्थित इसेसाकीमा ४१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो।