काठमाडौँ । आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र यसलाई मुख्य स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने उद्देश्यले आज एक उच्चस्तरीय छलफल सम्पन्न भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको प्रमुख उपस्थितिमा भएको यस छलफलमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार र नीतिगत व्यवस्थापनका विषयमा गम्भीर विमर्श भएको छ। सो क्रममा नेपाललाई अन्तर्राष्ट्रियस्तरको आयुर्वेदिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
छलफलका क्रममा मन्त्री मेहताले नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नु सरकारको मुख्य प्राथमिकतामा रहेको स्पष्ट पारिन्। उनले यस क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले आवश्यक पर्ने नीतिगत तथा संस्थागत सहयोग गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताइन्।
पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ। ती संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति र अन्तर्राष्ट्रियस्तरको वेलनेस (कल्याणकारी) सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीति मन्त्रालयले अघि बढाउने जनाएको छ।
यसका साथै, आयुर्वेद सेवालाई राज्यको स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्ने तथा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा पनि सहभागीहरूले महत्वपूर्ण सुझावहरू दिएका थिए।