खुकुरी प्रहारबाट घाइते श्रीमती र आत्महत्याको प्रयास गरेका श्रीमान् दुवैको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
202
Shares
काठमाडौँ । झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ भने आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारका क्रममा ज्यान गएको छ।
दमक नगरपालिका–१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २:०० बजे श्रीमान्–श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो। सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए, जसका कारण विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर क्षति पुगेको थियो।
श्रीमतीमाथि आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेर तत्काल पासो काटेर भुइँमा झारेकी थिइन्।
घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएको थियो। अस्पतालमा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।