विश्वविद्यालयहरूमा राजनीतिकरणको अन्त्य गरी ‘मेरिटोक्रेसी’ लागू गर्छौं: शिक्षामन्त्री पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
353
Shares
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा विद्यमान राजनीतिकरणको पूर्ण रूपमा अन्त्य गर्ने दृढ प्रतिवद्धता व्यक्त गरे।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने घोषणा गरे।
विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका उनले अबका दिनमा विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गरी केवल योग्यता, क्षमता र ‘मेरिटोक्रेसी’ का आधारमा मात्र नेतृत्व र टिम निर्माण गरिने स्पष्ट पारे।
मन्त्री पोखरेलले विश्वविद्यालयमा नियुक्ति, सरुवा, बढुवा वा अन्य कुनै पनि प्रशासनिक निर्णय अबदेखि राजनीतिक दबाब वा भागबण्डाका आधारमा नहुने बताए।
विश्वविद्यालयको स्वायत्तता जोगाउन आफ्नै दल वा अन्य जुनसुकै राजनीतिक दलबाट आउने अनुचित दबाबको दृढतापूर्वक प्रतिरोध गरिने बताउँदै उहाँले यदि कुनै किसिमको राजनीतिक दबाब आएमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे।
राजनीतिक स्वार्थभन्दा माथि उठेर विश्वविद्यालयको समग्र प्राज्ञिक र शैक्षिक सुधारका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले आगामी दिनमा विश्वविद्यालयका सबै निर्णयहरू पूर्ण रूपमा मेरिटोक्रेसीका आधारमा सञ्चालन हुने कुरा दोहोर्याए।