विकास आयोजनालाई ‘ग्रीन सिग्नल’, तीन महिनामै ४४ वातावरणीय प्रक्रिया टुंगिए
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
152
Shares
काठमाडौँ। कृषि तथा वन वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनामा ४४ ओटा वातावरणीय प्रक्रिया सम्पन्न गर्दै विकास आयोजनाको स्वीकृति प्रक्रियालाई तीव्रता दिएको छ।
वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), क्षेत्र निर्धारण (एसडी/टिओआर) र वातावरणीय व्यवस्थापन योजनाको स्वीकृतिले जलविद्युत्, सडक, रेल र ऊर्जा पूर्वाधार निर्माणलाई अघि बढाउने आधार तयार गरेको छ।
मन्त्रालयको प्रगति विवरणअनुसार वैशाखदेखि असारसम्म १६ वटा आयोजनाको ईआईए र ११ ओटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएका छन्। स्वीकृत आयोजनामध्ये अधिकांश जलविद्युत्सँग सम्बन्धित छन्।
बूढीगण्डकी, माथिल्लो भेरी, जगदुल्ला, माथिल्लो दूधखोला, रोल्वालिङ खोला र सुपर बूढीगण्डकीजस्ता ठूला आयोजना अघि बढ्ने बाटो खुलेको छ। सडक, आवास, अस्पताल र रेलमार्गका परियोजनाले पनि आवश्यक वातावरणीय स्वीकृति पाएका छन्।
यसले सरकारले पूर्वाधार निर्माणलाई गति दिन खोजेको देखिए पनि वातावरणीय स्वीकृति मात्रै विकासको अन्तिम उपलब्धि भने होइन।
नेपालमा धेरै आयोजना ईआईए स्वीकृतिपछि वर्षौँसम्म निर्माणमै जान नसक्ने वा बजेट, जग्गा, ठेक्का र व्यवस्थापनका कारण अलपत्र पर्ने गरेका उदाहरण प्रशस्तै छन्। त्यसैले स्वीकृतिलाई मात्र उपलब्धि मान्नेभन्दा कार्यान्वयनको गति अझ महत्त्वपूर्ण हुनेछ।
मन्त्रालयले एमसीसी अन्तर्गतको ४०० केभी प्रसारण लाइनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत गर्नु ऊर्जा पूर्वाधार विस्तारका लागि सकारात्मक संकेत हो। यसले विद्युत् उत्पादनसँगै प्रसारण क्षमता बढाउने प्रयासलाई पनि सघाउने अपेक्षा गरिएको छ।
यता वातावरणीय मापदण्ड उल्लङ्घन गरेको भन्दै भेरी अस्पताल र धुलिखेल अस्पताललाई जरिवाना गर्नु मन्त्रालयले निगरानी पक्षलाई पनि सँगसँगै अघि बढाएको संकेत हो।
विकास निर्माणलाई सहजीकरण गर्ने र वातावरणीय कानुनको पालना गराउने दुवै जिम्मेवारी सन्तुलित रूपमा पूरा गर्नुपर्ने चुनौती मन्त्रालयसामु अझै कायम छ।