बालेनको अर्थमन्त्री वाग्लेलाई निर्देशन - पात्र जोसुकै होस्, मलाई नतिजा दिनुस्
राजनीतिक दबाब र सोर्सफोर्सका भरमा सरुवा–नियुक्ति हुने दिन गए: अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
695
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई व्यक्तिगत चिनजान वा पहुँचभन्दा माथि उठेफि केवल परिणाममुखी कार्यशैली अपनाउन निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीबाट यस्तो कडा र स्पष्ट निर्देशन प्राप्त भएको खुलासा गरेका हुन्।
वर्तमान सरकारले नतिजामुखी कार्यशैलीलाई सर्वोपरि प्राथमिकतामा राखेको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीलाई कुनै पनि पद वा विभागको नेतृत्व गर्ने पात्रभन्दा पनि कामको प्रकृति र ठोस प्रतिफलसँग मात्र सरोकार रहेको बताए।
प्रधानमन्त्रीको सोही निर्देशनलाई आत्मसात् गर्दै अर्थमन्त्री वाग्लेले अबदेखि सरकारी नियुक्ति, सरुवा तथा बढुवामा कुनै पनि प्रकारको राजनीतिक दबाब, प्रभाव वा शक्ति केन्द्रको सोर्सफोर्स पूर्ण रूपमा अस्वीकार्य हुने चेतावनी दिएका छन्। विगतमा नेता र गुटको सिफारिस खोज्दै समय बर्बाड गर्ने परिपाटीको अब अन्त्य हुने बताउँदै उनले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिमा व्यापक लबिङ भए पनि कुनै सिफारिसबिना पूर्ण रूपमा योग्य व्यक्तिलाई जिम्मेवारी दिइएको उदाहरण प्रस्तुत गरे।
उनले भने, ‘राजनीतिक दबाब कुनैपनि हालतमा हुनेछैन भन्नेकुरा मैले पहिले नै स्पष्ट गरिसकेको छु । हाम्रो प्राथमिकता व्यक्ति होइन, नतिजा हो । अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले पनि हामीलाई बारम्बार भन्नुहुन्छ– कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो छैन । नतिजा आउनुपर्छ, तपाईंहरू आफ्नो विधि र प्रक्रियाअनुसार काम गर्नुहोस् । मैले पनि यही भावना मन्त्रालयमा लागू गरेको छु । सचिव र सहसचिवहरूलाई सक्षम व्यक्तिलाई जिम्मेवारी दिएर काम गराउन र नतिजा दिन अधिकार प्रदान गरिएको छ । पहिले सरुवा र नियुक्तिमा राजनीतिक पहुँच, गुट र व्यक्तिगत चिनजान खोज्दै धेरै समय खर्च हुन्थ्यो ।अब त्यो अभ्यास अन्त्य हुनुपर्छ । कसैको आफन्त, नातेदार वा कुनै नेताको सिफारिसका आधारमा निर्णय हुने छैन । यदि कसैले दबाब दिन खोज्छ भने त्यसले उल्टै नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ । मैले गरेका नियुक्तिहरू पनि योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा भएका छन् । उदाहरणका रूपमा, राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिमा धेरैले लबिङ गरे, तर लबिङ नगर्ने योग्य व्यक्ति नै नियुक्त हुनुभयो । यही प्रणालीलाई संस्थागत गर्न हामी लागिरहेका छौँ । म स्वयं काठमाडौं बाहिरका कार्यालयहरू–आन्तरिक राजश्व कार्यालय, भन्सार तथा अन्य निकायहरूमा पुगेर कर्मचारीका समस्या सुन्ने, सुधारका उपायबारे छलफल गर्ने र आवश्यक हौसला प्रदान गर्नेछु । कसैले पनि डराउनु पर्दैन । कुनै गुनासो वा सुझाव भए सिधै मेरो कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो उद्देश्य व्यक्तिगत निर्णय होइन, प्रणाली सुधार, सुशासन प्रवद्र्धन र संस्थागत सुधार हो । यदि कतै अनियमितता वा बदमासी भइरहेको छ भने प्रमाणसहित जानकारी गराइदिनुहोस् ।’
राजस्व प्रशासनमा देखिएका बेथिति अन्त्य गर्न, स्वेच्छिक कर अनुपालन बढाउन र कर्मचारीहरूको हौसला अभिवृद्धि गर्न आफू स्वयं काठमाडौँ बाहिरका कर तथा भन्सार कार्यालयहरूको अनुगमनमा जाने प्रतिबद्धता पनि उनले व्यक्त गरे। अनियमितता वा बदमासी गर्नेलाई छुट नदिइने स्पष्ट पार्दै उनले यो समग्र प्रणाली सुधार र सुशासन प्रवर्द्धनको एक अभियान भएको बताएका छन्।